१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तु सामुदायिक अस्पतालको निर्वाचन प्रकृया शुरु



मायादेवी अनलाइन, जितपुर ।

समुदायद्धारा संचालित कपिलवस्तुकै पहिलो सामुदायिक अस्पताल वाणगंगाको निर्वाचन प्रकृया अघि बढेको छ ।

अस्पतालको दोश्रो अधिवेशनका लागि निर्वाचन कार्यतालिका अनु्सार शनिबार उम्मेदवारी दर्ता भएको छ । कपिलवस्तु सामुदायिक अस्पताल विकास समितिको निर्वाचन समितिले उम्मेदवारी दर्ता गरेका उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।
अस्पतालको ७ जना पदाधिकारी र ८ जना कार्यसमिति सदस्य रहने व्यवस्था रहेको छ । अध्यक्ष, उपाध्यक्ष (महिला), महासचिव र कोषाध्यक्ष पदमा एकल उम्मेदवारी परेको छ भने कार्यसमिति महिला सदस्य ३ मध्ये २ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । यी वाहेक अन्य पदमा आवश्यक संख्या भन्दा धेरैको उम्मेदवारी परेपछि निर्वाचनको सम्भवना बढेर गएको छ ।

निर्वाचन समितिका संयोजक ओमप्रकाश अर्यालका अनुसार बरिष्ठ उपाध्यक्षमा राम प्रसाद गैरे र सुवास पाण्डेको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपाध्यक्ष पदमा (पुरुष तर्फ) प्रविन पौडेल, राम पौडेल र सुरजराज आचार्यको उम्मेदवारी परेको छ भने सचिवमा पदम प्रताप सेन र विष्णु बहादुर विसिको उम्मेदवारी दर्ता भएको छ । खुलातर्फ ५ सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ ।

अस्पतालको अध्यक्ष पदका लागि शिवचन्द्र आचार्य, उपाध्यक्ष महिला तर्फ पार्वती शाही, महासचिव बुद्धि बहादुर रोकाहा र कोषाध्यक्षमा रेवता घिमिरे (पौडेल)को एकल उम्मेदवारी परेको छ भने ३ जना महिला सदस्य पदमा गितादेवी पौडेल र मिना खड्काको मात्र उम्मेदवारी दर्ता भएको छ । यसरी यी पदहरुमा अन्य कसैको पनि उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित हुने देखिन्छ ।

निर्वाचन समितिले आज ४ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरेको हो । भोली १९ गते ४ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय सिमा तोकेको छ । अस्पतालको भाद्र २५ गते विहान ९ बजेदेखि ४ बजे सम्म मतदान गर्ने कार्यतालिका तय गरेको छ ।

केही पदाधिकारी र कार्यसमिति सदस्य पदमा आवश्यक संख्या भन्दा बढि उम्मेदारी दर्ता भएपछि निर्वाचन हुने सम्भावना बढि देखिन्छ यद्यपी सर्वसम्मत नेतृत्वका लागि भने प्रयास समेत भइरहेको संस्थापकहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७९ शनिबार ००:००  ५ : १२ बजे