१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पर्यटन मन्त्रीद्वारा पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात



काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाण्डौको हनुमानढोका दरबार स्क्वायर क्षेत्रबाट पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियानको सुरुवात गर्नुभएको छ ।

सम्पदा स्थलहरुलाई सफा एवं आकर्षक बनाउने लक्ष्यका साथ सरसफाइ अभियान सुरु गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो । अभियान अन्तर्गत हनुमानढोका दरबार क्षेत्र, वसन्तपुर र त्यस आसपासमा सरसफाइ गरिएको थियो । ुपर्यटन पुनरुत्थानका लागि क्लिन नेपालरग्रीन नेपालु अभियान नारासहित पर्यटकीय स्थलमा विशेष सरसफाइ अभियान सुरु गरिएको हो ।

मन्त्रालयले पर्यटन सम्बद्ध सार्वजनिक निकाय, पालिका तह, सामाजिक संघ संस्थाहरु र शैक्षिक प्रतिष्ठानहरुसँगको सहकार्यमा विशेष सरसफाइ अभियान सुरु गरेको हो । मन्त्री श्रेष्ठले अघि सार्नुभएको नेपालको पर्यटन क्षेत्र पुनरूत्थान कार्ययोजनमा महत्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने उल्लेख छ । पर्यटकलाई आकर्षित गर्न सरसफाइ महत्वपूर्ण भएकोले यसलाई अभियानकै रुपमा सुरुवात गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

अभियानले संस्कृति, सम्पदाको संरक्षण र प्रबर्द्धनमा सघाउ पुर्‍याउने उहाँले बताउनुभयो । सरसफाइ अभियानमा सम्पदा संरक्षण अभियान्ता, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीयबासिन्दाको सहभागिता थियो । देशका अन्य महत्वपूर्ण पर्यटकीय स्थलहरुमा पनि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गरिने मन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १७ भाद्र २०७९ शुक्रबार ००:००  ११ : ४७ बजे