१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

एसईईको पुरक परीक्षा दिने भलवाडका विद्यार्थीलाई कोइली खोलाले छेकेपछि…



मायादेवी अनलाइन, बाणगंगा ।
गएराति परेको अविरल बर्षाको पीडामा भलवाडका विद्यार्थी परेका छन् । अविरल बर्षासंगै कोइली खोलामा आएको बाढीले एसईईको ग्रेड वृद्धि परीक्षा दिने भलवाडका विद्यार्थीलाई छेकेको हो ।

जनता मावि पिपरा परीक्षा दिनका लागि हिडेका ३४ जना विद्यार्थी बाढीले छेकेपछि निर्धारित समयमा परीक्षा दिन पाएनन् ।

उर्लदो बाढीले छेकेपछि ती विद्यार्थीलाई भलवाडमै परीक्षा दिने व्यवस्था मिलाइएको छ । निर्धारित समयभन्दा डेढ घण्टा पछि भलवाडमा परीक्षा केन्द्र तोकेर ती विद्यार्थीलाई परीक्षा दिने वातावरण मिलाइएको हो ।

विद्यार्थी परीक्षा दिन बन्चित भएपछि बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, जिल्ला शिक्षा समन्वय इकाई कपिलवस्तुका अधिकृत अर्जुन कुँवर, बाणगंगाका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत खिमबहादुर जिसी, कपिलवस्तु उद्योग बाणिज्य संघ कपिलवस्तुका प्रतिनिधि लगायतको टोली कोइली खोला पुगेका थिए ।

विद्यार्थीलाई बाढीले छेकेपछि सशस्त्र प्रहरी बल पिपराको उद्धार टिम परिचालन गरी प्रश्नपत्र, परीक्षामा खट्ने शिक्षाका कर्मचारीलाई भलवाड लगिएको थियो ।

बाणगंगा नगरपालिका वडा नं. ९ को सिंगो वडा कोइली खोलाको समस्यामा छ । बर्खा लागेपछि कोइली खोला भलवाडबासीको तगारो बन्दै आएको छ । यहाँ पक्की पुल नहुँदा बर्षेनी भलवाडबासीले समस्या झेल्दै आएका छन् ।

आजभन्दा दुई बर्ष पहिले कोइली खोलामा आएको बाढीले बगाउँदा तत्कालिन विद्युत प्राधिकरण गजेहडा वितरण केन्द्रका प्रमुखसहित तीन जनाको ज्यान गएको थियो ।

कोइली खोलामा पक्की पुल बनाउने कुरा उठ्न थालेको दशकौं विते पनि अझै बन्न सकेको छैन् । गत बर्ष पुल निर्माणका लागि लुम्बिी प्रदेश सरकारले बजेट विनियोजन गरेको थियो । तर, जग्गा विवादका कारण बजेट फ्रिज हुन पुगेको भलवाडबासी बताउँछन् ।

भलवाडबासीलाई कोइली खोलाको समस्या हुन लागेको बर्षौ भएको र पटक पटक यस विषयमा सरोकारवालालाई भने पनि कुनै सुनुवाई नभएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोकलराम घिमिरेले बताए ।

यो पनि पढ्नुहोस् …

०३९ सालदेखि भलवाडबासीले कोइली खोलामा पुल मागे तर, सुनिदिने कोही भएनन् !

प्रकाशित मिति : ११ भाद्र २०७९ शनिबार ००:००  १० : ०० बजे