मायादेवी अनलाइन, बाणगंगा ।
आसन्न मंसीर ४ गते हुन गइरहेको संघ र प्रदेशसभा निर्वाचनको सरगर्मी बढ्दो छ । दलहरुले चुनाव केन्द्रीत कार्यक्रम गरिरहेका छन् ।
कपिलवस्तुमा ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । आसन्न चुनावमा यहाँ ५ दलिय गठबन्धन भर्सेज एमाले हुने सम्भावना बढी देखिन्छ ।
केन्द्रीय स्तरमा रहेको सत्तारुढ ५ दलिय गठबन्धनले आसन्न चुनावमा तालमेल गरी चुनाव लड्ने घोषणा गरिसकेका छन् ।
देशमा ५ दलिय गठबन्धन विरुद्ध एमालेले प्रतिस्पर्धा गर्ने सम्भावना बढिरहेका बेला कपिलवस्तु प्रतिनिधिसभा १ को चुनावी अंक गणितबारे यहाँ चर्चा गरिएको छ ।
गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा वडामा पाएको मतको हिसाब गर्दा ५ दलिय गठबन्धनको मत ५४ हजार ८ सय ४१ हुन आउँछ ।
स्थानीय तहको चुनावमा गठबन्धन नगरी एक्लै चुनावी प्रतिस्पर्धा गरेका ५ दलिय गठबन्धन मध्ये नेपाली कांग्रेसले यस निर्वाचन क्षेत्रमा २८ हजार २७१ मत पाएको छ ।
गठबन्धन भित्रको जनता समाजवादी पार्टी (जसपा) ले १३ हजार ५१० मत पाउँदा नेकपा (माओवादी केन्द्र) ले ९ हजार ३३८ मत पाएको छ ।
नेकपा (एकीकृत समाजवादी) को मत यहाँ ३ हजार ७२२ छ ।
एमालेले यो निर्वाचन क्षेत्रमा २६ हजार ८२३ मत पाएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ३ हजार ४२४ पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८० मत पाएको छ ।
यो मत विश्लेषण गर्दा ५ दलिय गठबन्धनको मत ५४ हजार ८४१ हुन आउँछ । एमालेको मत यहाँ २६ हजार ८२३ छ ।
एमाले भन्दा गठबन्धन २८ हजार १८ मतले अगाडी देखिन्छ ।
यो निर्वाचन क्षेत्रमा ०७४ सालमा माओवादी केन्द्रका चक्रपाणी खनालले चुनाव जितेका थिए । खनालले कांग्रेस नेता दीपकुमार उपाध्यायलाई झिनो मतान्तरले पराजित गरेका थिए ।
खनालले त्यो चुनावमा २९ हजार ६ सय ९३ मत पाएका थिए भने उपाध्यायले २८ हजार ७ सय ४७ मत ल्याएका थिए । उनी दुवै बीचको मतान्तर ९ सय ४६ थियो ।
आसन्न चुनावमा यहाँ माओवादीले गठबन्धनबाट टिकट पाउने लगभग पक्का छ । केन्द्रीय गठबन्धनले जसले जहाँ जितेको हो निर्वाचन क्षेत्र पाउने गरी टिकट वितरण गर्न लागेको अवस्थामा यहाँ माओवादी सुरक्षित देखिएको हो । यद्यपि कांग्रेस नेता उपाध्याय पनि यस क्षेत्रमा चुनाव लड्ने इच्छा राख्दै आएका छन् ।
केन्द्रीय स्तरमा गठबन्धन भएको खण्डमा एमालेलाई गठबन्धनका उम्मेद्वार हराउन चुनौती देखिन्छ । एमालेको जनधार बाणगंगामा राम्रो भएपनि दक्षिणी भेगमा राम्रो छैन् । यद्यपि दान बहादुर चौधरीको एमाले आगमनले एमाले नेता थोरै भए पनि हौसिएका छन् ।
चौधरी एमालेमा भित्रिए पनि उनले लामो समय जित्दै आएको मायादेवी गाउँपालिका वडा नं. १ यो चुनावमा गुमाउन पुगेका छन् । यस वडामा माओवादी उम्मेद्वारले बाजि मारेका छन् । चौधरी विगतमा भन्दा अहिले कमजोर देखिएका छन् ।
पटक-पटक दल अदलबदल गर्दै आएको चौधरीलाई जनताको मन जित्न त्यहीँ सजिलो भने छैन् ।
प्रतिक्रिया