१३ मंसिर २०८१, बिहिबार | Fri Nov 29 2024

कृष्णनगरमा अनेमसंघ (समाजवादी) र युवा संघ नेपालको नगर कमिटी गठन



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कृष्णनगरले नगर स्तरीय भातृ संगठन गठन गरेको छ । बुधबार भएको एक भेलाले नगर स्तरीय अखिल नेपाल महिला संघ (समाजवादी) र युवा संघ नेपाल गठन गरेको हो ।

जसमा अनेमसंघ (समाजवादी) कृष्णनगरको अध्यक्षमा नुर फातिमा बिवी चयन भएकी छिन् । उपाध्यक्षमा तारावती कोरी, सचिवमा खुशनुवा र कोषाध्यक्षमा शुभावती कोरी चयन भएकी छिन् ।

यस्तै युवा संघ नेपाल कृष्णनगर नगर कमिटीको अध्यक्षमा एहतेशाम खाँ चयन भएका छन् । उपाध्यक्षमा मुस्तफा वेग, सचिवमा दिनेश यादव, कोषाध्यक्षमा लक्ष्मण यादव चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य मीना परियारले समाजवादको लक्ष्य प्राप्तिमा महिला र युवाहरुको भूमिका अहम रहने बताएकी छिन् । कम्युनिष्ट आन्दोलनको रक्षार्थ एकीकृत समाजवादी पुर्नगठन गरिएको भन्दै पार्टीका बलिया खम्बाका रुपमा रहेका अनेमसंघ (समाजवादी) र युवा संघ नेपाल गठन गरेर कृष्णनगर नगर कमिटीले महत्वपूर्ण काम गरेको उनले बताइन् ।

नेकपा (एकीकृत समाजवादी)का जिल्ला सचिव ओमप्रकाश कुर्मीले नवनियुक्त कमिटीका पदाधिकारी र सदस्यहरुलाई आगामी कार्यकालको शुभकामना व्यक्त गरे । कृष्णनगरमा कम्युनिष्ट पार्टीको विस्तार बढ्न थालेको भन्दै अब एकीकृत समाजवादीको प्रभाव यहाँ विस्तारै बढ्दै जानेमा विश्वास व्यक्त गरे । गत स्थानीय तहको चुनावमा यहाँ पार्टीले पाएको भोट राम्रो भएको उनले जनाए ।

पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष इन्तेखाव अहमद खाँले कृष्णनगरको विकासमा सधै लागि पर्ने प्रतिवद्धता जनाए । कृष्णनगर विकासको गतिमा निकै पछाडी परेको भन्दै यसको मुहार फेर्नका लागि युवा पुस्ताको उदय अनिवार्य रहेको उनले बताए । धेरै सम्भावनालाई त्यागेर नगरको विकासका लागि आफू राजनीतिमा आएको भन्दै सबैलाई साथ दिएर एक पटक हेर्न आग्रह गरे ।

कृष्णनगर नगरपालिकाका नगर उप-प्रमुखका उम्मेद्वार बनेका खानले यहाँ विकासको बाधक जातीय र धार्मिकताको राजनीति मुख्य रहेको बताए । चुनावमा हिन्दु-मुस्लिम, ब्राह्मण-दलित, धनी-गरिबको नाराले यहाँ काम गर्ने गरेको भन्दै अब सच्चा नेता चुन्नुपर्ने बेला आएको उनले जनाए ।

युवा संघ नेपालका केन्द्रीय सचिव सुशील भट्टराईले युवा संघले गर्न लागेको मेची-महाकाली यात्रालाई सफल बनाउन युवाहरुलाई आग्रह गरे । युवा संघ संगठन विस्तारमा जुटिरहेको भन्दै कृष्णनगरबाट यसको सुरुवात हुनु राम्रो पक्ष भएको उनले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७९ बुधबार ००:००  ८ : ५० बजे