१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

कपिलवस्तुमा कांग्रेस संस्थापन पक्षको भेला, आसन्न चुनावी रणनीतिबारे छलफल



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा नेपाली कांग्रेस संस्थापन पक्षको भेला बसेको छ ।

आसन्न मंसीर ४ गते हुन गइरहेको संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँडको रस्साकस्सीका बीच बसेको भेलालाई महत्वका साथ हेरिएको छ ।

जिल्लामा कांग्रेसको संस्थापन पक्ष कमजोर छ । जिल्ला समितिमा शेखर कोइराला पक्षको बहुमत जस्तै छ भने, अन्य क्षेत्र र पालिका समितिमा पनि यहीँ समूहको वर्चश्व जस्तै छ ।

गत स्थानीय तहको चुनावी समिक्षा र आसन्न चुनावमा कसरी नयाँ रणनीति तय गर्ने भन्नेबारे छलफल गर्नका लागि संस्थापन पक्षले भेला आयोजना गरेको हो ।

तौलिहवामा बसेको भेलामा जिल्लामा कार्यकर्ता भन्दा पनि शिर्ष नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकमा पार्टी पूर्व सभापति तथा संस्थापन पक्षका नेता राजेश आचार्यले स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन नहुँदा कांग्रेसले हार व्यहोर्नु परेको सुनाए । आसन्न निर्वाचनमा यस्तो हुन नहुनेमा जोड दिदैं उनले महिलालाई पनि राजनीतिमा प्रोत्साहन गर्नु पर्ने बताए । सामाजिक रुपान्तरणमा महिलाको भूमिका महत्वपूर्ण हुनेमा उनले जोड दिए । कांग्रेसमा काम नगर्ने, गाली गर्ने प्रवृत्ति गलत भएकाले सबै मिल्नु पर्नेमा उनले जोड दिएका छन् ।

पार्टीका पूर्व सभापति सुधाकर पाण्डेयले कांग्रेसले संघ र प्रदेशको निर्वाचन केन्द्रित गम्भीर समीक्षा गर्नुपर्ने समय आएको बताए । पाण्डेयले कांग्रेससंग रिसाएर कांग्रेसलाई नै हराउने कार्य कसैले पनि गर्न नहुनेमा जोड दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता विरेन्द्र कुमार कनोडियाले कांग्रेसको संगठन बलियो भए पनि कतिपय स्थानीय तहमा कांग्रेसले खिचातानीका कारण हार्नु परेको बताए । उनले आगामी निर्वाचनमा गठबन्धन जसरी अघि बढ्छ त्यसै अनुरुप प्रदेश र संघमा गठबन्धनलाई जिताउन लाग्नु पर्ने बताए ।

निवर्तमान राष्ट्रिय सभा सदस्य दृघ नारायण पाण्डेले स्थानीय तह निर्वाचनको समयमा कतिपय कांग्रेस कार्यकर्ताले राजीनामा नै दिनुपर्ने अवस्था आउनु गलत भएको बताउँदै पाण्डेले युवा पुस्ता राजनीतिमा आउनु पर्नेमा जोड दिए ।

कपिलवस्तु क्षेत्र नंं. १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँले गिरिजा प्रसाद कोइरालाको पालामा जस्तो पार्टीमा भावनात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

कांग्रेस कपिलवस्तु नगरपालिकाका सभापति खुर्सेद अहमद खाँले पार्टीले कामको मूल्याङ्कनको आधारमा राम्रा मान्छे चुन्नु पर्नेमा जोड दिए ।

कांग्रेसका युवा नेता राजेश ज्ञवालीले टिकट वितरणमा निश्चित मापदण्ड बनाउनु पर्ने र युवाहरुलाई राजनीतिमा प्रोत्साहन गर्नुपर्ने बताए ।

कांग्रेस कपिलवस्तुका सह सचिव अरसद ओजीले संगठनमा लागेका व्यक्तिहरुलाई उपेक्षा गर्न नहुने बताए ।

कपिलवस्तु क्षेत्र नं. १ (क)का सभापति दुर्गा केसीले गुट उपगुट हुनु पार्टीका लागि दुर्भाग्य भएको बताउँदै प्रदेश र संघको निर्वाचनमा पार्टी एकजुट भएर निर्वाचनमा होमिनु पर्ने बताए ।

कांग्रेसका युवा नेता एवम् महाधिवेशन प्रतिनिधि आशिष शर्माले राजनीति नेतृत्व प्रति जुन दृष्टिकोण छ त्यसलाई बदल्न सक्षम युवापुस्ताले नेतृत्व लिन जरुरी रहेकोले युवाहरु राजनीतिमा आउनु पर्ने बताए ।

कांग्रेसका नेताहरु रविराज आचार्य, डोलकराम घिमिरे, विष्णु प्रसाद न्यौपाने, पदम प्रसाद खनाल, सर्जु थारु, प्रशान्त कार्की, सोहरत तेली, विजय खनाल, महेन्द्र पाठक, कृष्ण प्रसाद पोख्रेल, राम विहारी थारु, रुपक खनाल लगायत उल्लेख्य कांग्रेस नेताहरुले बैठकमा आ–आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०७९ शुक्रबार ००:००  ७ : २९ बजे