मायादेवी अनलाइन, बाणगंगा ।
गत शनिबार कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ हथिहवा शविलवाका पन्नालाल राजभरको छोराको कान दुख्यो । नजिकै रहेको सहानी मेडिकल लगेर देखाए । आफूलाई डाक्टर भन्ने विनय कुमार मल्लाहले ‘मोनसेक’ नामक सुई पाखुरामा लगाइ दिए ।
त्यसको १० मिनेटमै १४ वर्षीय छोरा दुर्गेश राजभर बेहोस भए । थप उपचार गराउन लवनी अलशेख अस्पताल लगे । त्यहाँ उपचार हुन सक्दैन भनेपछि तौलिहवा जिल्ला अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।
घटनालगत्तै परविारको आग्रहमा नक्कली डाक्टर तथा सो मेडिकलका संचालक अमरेश सहानीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ गरिएका सहानीसँग मेडिकल प्रमाणपत्र, मेडिकल काउन्सिल तथा अन्य चिकित्सक सम्बन्धी कुनै कागजात नरहेको प्रहरी निरिक्षक रेशम पौडेलले जानकारी दिए ।
सहानी जस्तै जिल्लाका गाउँदेखि शहरमा नक्कली झोले डाक्टरहरु कै बिगबिगी छ । उनीहरुले मान्छेको जनस्वास्थ्यमाथि खेलवाड गरिरहेका छन् । उनीहरु कै कारणले कैयौंले ज्यान समेत गुमाएका छन् ।
तर जिल्लाका गाउँदेखि शहरसम्म नक्कली डाक्टरले गैर कानुनीरुपमा खुलेयाम औषधि पसल र क्लिनिक संचालन गरेपनि सरोकारवाला मौन बसेका छन् । अनुगमन, निरिक्षणमा चासो नदिँदा अवैध औषधि पसल खुल्ने क्रम यहाँ बढ्दै गएको छ ।
अनुगमन गर्ने निकाय मौन बस्दा यहाँका ग्रामीण भेगदेखि शहर बजारसम्म गैर कानूनी औषधि पसलको संख्या दिनानुदिन बढ्दै गएको हो । औषधि व्यवस्था विभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत कुनै पनि निकायले पनि त्यस्ता पसल संचालनमा रोक नलगाउँदा यहाँको जन स्वास्थ्य समस्या जटिल बन्दै गएको छ ।
यहाँका अधिकांश औषधि पसलहरु गैरकानूनी रुपमा सञ्चालन भइरहेका छन् । औषधि पसल सञ्चालनको लागि औषधि व्यवस्था विभागबाट अनिवार्य दर्ता गराउनु पर्ने प्रावधान छ । दर्तावाल औषधि पसलमा मात्र औषधि बिक्री गर्न पाईन्छ । क्लिनिक संचालन गरेपछि मात्र चेकजाँच र उपचार गर्न पाईने नियम छ । क्लिनिक संचालनका लागि स्वास्थ्य कार्यालयसँग अनिवार्य स्विकृति लिनु पर्ने प्रावधान रहेको छ ।
तर, त्यस विपरित जिल्लामा दुई सय भन्दा बढी औषधि पसल सञ्चालनमा रहेको औषधि व्यवसायी संघले जनाएको छ । पसल मात्र नभई झोला छाप र भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन् ।
‘यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन् नै सदरमुकाममा समेत किराना पसल झै छ्याप्पछ्याप्ती छन’ औषधि व्यवसायी संघका पूर्व जिल्ला सचिव मनिराम पाण्डेयले भने, ‘तर कारबाही गर्ने आँट कसैबाट भएको छैन् ।’
जिल्लामा कति दर्तावाला औषधि पसल छन् र कति छैनन् त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन् । त्यस्ता पसलमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधिहरु बिक्री हुने गरेको पाण्डेय बताउँछन् । जसका कारण स्वास्थ्य सेवा यहाँ झन जटिल बन्दै गइरहेको छ ।
यो पनि पढ्नुहोस्… कपिलवस्तुका सहायक सिडिओ पौडेलको नेतृत्वमा बजार अनुगमन, बंगाली डाक्टर परे फन्दामा
प्रतिक्रिया