मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तु बाणगंगा नगरभित्र कक्षा १२ सम्म सञ्चालन गर्ने माध्यमिक विद्यालयहरुले मासिक शूल्कमा ३ सय बढाएका छन् ।
हाल मासिक शूल्क ७ सय रहदै आएको थियो । यसलाई बढाएर यहाँका माध्यमिक विद्यालयले १ हजार पुर्याएका छन् ।
नगरभित्र सञ्चालित कक्षा १२ सम्मका सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरुको बैठकबाट उक्त शूल्कमा वृद्धि गरेको जनाइएको छ । औपचारिक रुपमा बाहिर सूचना नआए पनि आन्तरिक रुपमा यो निर्णयलाई गुपचुप राखिएको छ ।
शूल्क वृद्धि भएको थाहा पाए पछि विद्यार्थी संगठनहरुले यस विरुद्धमा आवाज उठाउन थालेका छन् । अनेरास्ववियू र अखिल (क्रान्तिकारी) ले यस विषयमा बाणगंगा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् भने नेविसंघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियूले यस विषयमा छलफल गरी चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।
शूल्क वृद्धिको सवालमा छलफल गर्न विहीबार मावि विद्यालयका प्रध्यानाध्यापकले विद्यार्थी संगठनहरुलाई सामूहिक वार्ताका लागि बोलाएका छन् ।
यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले शूल्क वृद्धि भएकोबारे आफूले बुझ्ने बताए । माध्यमिक तहको शिक्षा निशूल्क हुने कुराको व्यवस्था संविधानले गरेको र यसको क्षेत्राधिकार पालिकाले पाएको भन्दै यस विषयमा सम्बन्धित निकायसंग बुझ्ने उनले बताए ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले माविमा बढाइएको शूल्कमा आफूहरुको ध्यानाकर्षण भएको मायादेवी अनलाइनलाई बताएका छन् ।
‘किन, कुन कारण र कस्को सहमतिको आधारमा शूल्क बढाइएको हो भनेर सम्बन्धित निकायलाई औपचारिक जानकारी पठाएका छौं, नगर प्रमुख अर्यालले भने,’ ‘एक हप्ता भयो कुनै जानकारी आएको छैन ।’
प्रतिक्रिया