१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

विद्यार्थी संगठनहरुसंगको वार्ता पश्चात कपिलवस्तुका क्याम्पसहरुले भर्ना शूल्क घटाए



मायादेवी अनलाइन, बाणगंगा ।
बुधबार विहान बसेको लामो वार्ता पश्चात कपिलवस्तुका सामुदायिक क्याम्पसहरुले भर्ना शूल्क घटाउन तयार भएका छन् ।

कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा बसेको क्रियाशिल विद्यार्थी संगठन र नेपाल पब्लिक क्याम्पस संघ कपिलवस्तु बीचको वार्ता पश्चात भर्ना शूल्कमा ५ सय घटाइएको हो ।

पब्लिक क्याम्पस संघले हालै मात्र मासिक र भर्ना शूल्क बढाएको थियो । त्यसको विरोधमा कपिलवस्तुका क्रियाशिल नेकपा (एमाले) निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी) ले संयुक्त विज्ञप्ति निकालेर उत्रिएका थिए ।

उक्त विरोध पश्चात शूल्क घटाउनेबारे दुई हप्ता अगाडी पब्लिक क्याम्पस संघ र विद्यार्थी संगठनहरु बीच भएको वार्ता पश्चात मासिक शूल्कमा बढाएको रकम घटाइएको थियो ।

९ सय ७५ कायम रहदै आएको मासिक शूल्क १५ सय पुर्‍याइएको थियो ।

यसलाई वार्ता मार्फत घटाएर १२ सयमा झारिएको थियो ।

यो निर्णयको विरोधमा अखिल (क्रान्तिकारी) उत्रिए पश्चात बुधबार भएको विद्यार्थी संगठनहरुको वार्ता पश्चात संघले भर्नामा बढाएको ५ सय शूल्कलाई घटाउने निर्णय भएको अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश इन्चार्ज विज्ञान क्षेत्रीले जानकारी दिए ।

यो शूल्क घटाउने काम अखिल (क्रान्तिकारी) को पहलमा भएको क्षेत्रीले दाबी गरे ।

पब्लिक क्याम्पस संघका अध्यक्ष डा.विनय पाण्डेयले विद्यार्थी संगठनहरु बीच भएको वार्ता पश्चात भर्ना शूल्कमा बढेको रकम मध्ये ५ सय घटाइएको र मासिक शूल्क १२ सय यथावत् रहेको बताए ।

संघले भर्ना शूल्कमा १५ सय रुपैयाँ वृद्धि गरेको थियो ।

लामो वार्ता पश्चात संघ र विद्यार्थी संगठन सहमतिमा गएपछि क्याम्पसहरुमा लागेको ताला बुधबारबाट खोलिएको जनाइएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९ बुधबार ००:००  ७ : २६ बजे