मायादेवी अनलाइन, बाणगंगा ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका महामन्त्री सुरेन्द्रराज आचार्य प्रतिनिधिसभा-२ मा चुनाव लड्ने तयारीमा लागेका छन् ।
दुई कार्यकालसम्म कपिलवस्तुको पार्टी सभापति चलाएका आचार्य कपिलवस्तु-२ बाट निर्विकल्प उम्मेद्वार हुन चाहेका छन् । यद्यपि उनी प्रदेश तिर गएर यस क्षेत्रमा कांग्रेसका अरु नेता उठ्ने चर्चा हुन थालेको छ ।
त्यो चर्चालाई खण्डन गर्दै आचार्यले आफू नै प्रतिनिधिसभा २ बाट चुनाव लड्ने उद्घोष गरेका छन् ।
मायादेवी अनलाइनसंग कुराकानी गर्दै आचार्यले आसन्न मंसीर ४ को चुनावमा प्रतिनिधिसभा २ बाट चुनाव लड्ने बताए ।
‘०७४ मा पनि यही क्षेत्रबाट म चुनाव लडेको हुँ । आसन्न चुनावमा पनि उठ्छु, उनले ढुक्क साथ भने, ‘बाहिर जसजसले जे जे हल्ला चलाओस् उम्मेद्वार म नै हुँ ।’
आचार्यलाई प्रदेशसभामा लडाएर मुख्यमन्त्री बनाउने शर्तमा प्रतिनिधिसभा छाड्न मनाउने कांग्रेस भित्र चर्चा थियो । यो विषय सुन्न नचाहेका आचार्यले यसको ठाडै खारेज गरे ।
‘मेरा विरोधीले प्रदेशमा चुनाव लड्ने हल्ला चलाएका हुन् । म कुनै पनि हिसाबले प्रदेशको उम्मेद्वार होइन्, विरोधीको हल्लाको पछि कोही नकुद्नुहोला’, उनले भने ।
कांग्रेस नेता आचार्य गत निर्वाचनमा बृजेश कुमार गुप्तासंग झण्डै तीन हजार मतान्तरले पराजित भएका थिए । गुप्ता बामगठबन्धनबाट साझा उम्मेद्वार थिए भने आचार्य कांग्रेसबाट मात्रै उम्मेद्वार थिए ।
विगतमा चुनाव लड्दा भूगोल बुझ्न नसक्नु हारको कारण भएको आचार्य बताउँछन् ।
‘भर्खर चुनावी क्षेत्र बनेको थियो । उत्तर दक्षिणलाई समेटेर बनेको निर्वाचन क्षेत्रको भूगोल बुझ्दा बुझ्दै चुनाव लड्नुपर्ने स्थिति बन्यो । अहिले त्यो परिस्थिति छैन् ।’ उनले भने ।
यो चुनावमा आफूले विजयी हासिल गर्ने उनले बताए ।
जिल्लामा पनि केन्द्रीय नीति अनुसार चुनावी गठबन्धन हुने भन्दै प्रतिनिधिसभा २ कांग्रेसले पाउने पक्का भएको उनको भनाई छ । गठबन्धनका अरु दलले यो क्षेत्रमा दाबी नगर्ने उनको ठोकुवा छ ।
०७० को दोस्रो संविधानसभामा तत्कालिन क्षेत्र नं. ४ बाट उनले चुनाव जितेका थिए । त्यहीँ समयमा उनी सिंचाई राज्यमन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।
कांग्रेसका प्रभावशाली नेतामा गनिने आचार्य जिल्लामा बलिया छन् ।
प्रतिक्रिया