मायादेवी अनलाइन, बाणगंगा ।
आसन्न मंसीर ४ गते तोकिएको संघीय र प्रदेश सभा सदस्य पदको चुनावमा उठ्न नेताहरुले लविङ सुरु गरेका छन् ।
विभिन्न पार्टीका नेताहरुले विभिन्न क्षेत्रमा चुनाव लड्ने इच्छा व्यक्त गरिरहदा नेकपा (एमाले) कपिलवस्तुमा पनि त्यो क्रम बढेको छ ।
कपिलवस्तुमा ६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।
०७४ को संघ र प्रदेशसभा निर्वाचनमा ६ प्रदेशसभा मध्ये ४ क्षेत्रमा बामगठबन्धनका उम्मेद्वार विजयी भएका थिए ।
आसन्न चुनावमा दलहरु कसरी चुनावी समिकरण गर्छन् यसै भन्न सकिने स्थिति छैन् । केन्द्र सरकारमा रहेका ५ दलले भने आसन्न चुनावमा पनि गठनबन्धन गरेर जाने निर्णय गरिसकेका छन् ।
एमालेले कसरी चुनावी ‘गेम’ चाल्छ अझै भन्न सकिने स्थिति छैन् ।
जिल्लाका ६ प्रदेशसभा मध्ये प्रतिनिधिसभा-१ को प्रदेशसभा १ मा एमाले अरु पार्टी भन्दा बलियो छ । एक्ला एक्लै चुनाव लडे एमाले नै यस क्षेत्रमा विजयी हुने निश्चित जस्तै छ । तर, ५ दलिय गठबन्धन भएकोखण्डमा एमालेलाई चुनाव जित्न यहाँ त्यति सजिलो छैन् ।
गत ०७४ को चुनावमा बामगठबन्धनबाट एमालेका विष्णु पन्थी यही क्षेत्रबाट विजयी भएका थिए । उनले कांग्रेसका उम्मेद्वार पुरन थारुलाई ८ हजार बढी मतान्तरले हराएका थिए ।
पन्थी भने आसन्न चुनावमा संघबाट चुनाव लड्ने तयारीमा छन् । केहीँ महिनासम्म पन्थीलाई यहीँ क्षेत्रबाट चुनाव लड्ने आकलन गरिदै आइएको थियो । तर अहिले पन्थीले प्रदेशबाट संघमा आँखा लगाएका छन् ।
प्रदेशसभामा एमालेबाट चुनाव लड्ने आकांक्षा राख्ने मध्येका नेता हुन् बलराम अधिकारी र विश्राम थारु ।
यी दुवै नेताले यस क्षेत्रमा चुनाव लड्ने तीव्र इच्छा राखेका छन् ।
अधिकारी ०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका सभासद् पनि हुन् । एक दशक भन्दा बढी समय एमाले कपिलवस्तुको नेतृत्व गरेका अधिकारी हाल पार्टीको केन्द्रीय सदस्य छन् । जिल्लाको इन्चार्ज समेत रहेका अधिकारी आसन्न चुनावमा प्रदेशसभामा चुनाव लड्ने गरी लविङमा छन् ।
अधिकारीको प्रदेश लड्ने इच्छाले हालका प्रदेश सांसद पन्थी संघ तिर लागेको चर्चा हुने गर्छ । अधिकारीको चाहनाले चुनावी यात्रामा ब्रेक लाग्ने देखेपछि पन्थी संघ तिर गएको चर्चा एमाले वृत्तमा छ ।
अधिकारी ०७४ को चुनावमा संघमा चुनाव लड्ने तीव्र चाहनामा थिए । यद्यपि उनले टिकट पाउन सकेनन् ।
यो निर्वाचनमा जसरी पनि टिकट पाउनेमा उनी आशावादी छन् ।
०७० मा कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई चुनाव हराएका अधिकारी एमालेभित्रमा लोकप्रिय छन् ।
यता यहीँ क्षेत्रमा एमालेका जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले चुनाव लड्ने तयारी थालेका छन् । थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा थारुले आफूलाई शसक्त उम्मेद्वार रहेको ठान्दै आएका छन् ।
०७० सालको संविधानसभा निर्वाचनमा चुनाव लड्ने तीव्र इच्छा राखेका थारुलाई त्यो बेला पार्टीले टिकट दिएन ।
समानुपातिक तर्फ संविधानसभा सदस्य बनेका थारु ०७४ को निर्वाचनमा पनि प्रदेशसभामा चुनाव लड्ने इच्छा राखेका थिए ।
पार्टीले अर्को निर्वाचनमा टिकट दिने गरी थारुलाई त्यो बेला बसालेको एमालेभित्र चर्चा हुने गर्छ ।
थारु समुदायका शसक्त नेता रहेका थारु यो निर्वाचनमा जसरी पनि टिकट लिने दाउमा छन् ।
यो पनि… केपी ओलीको लिष्टमा कपिलवस्तुका यी नेता अटाए, विष्णु पन्थी आउट !
प्रतिक्रिया