१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

एमालेले कपिलवस्तु-२ लाई चुनाव ढुक्क जित्न सकिने क्षेत्रका रुपमा राख्यो



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एमाले) ले कपिलवस्तु प्रतिनिधिसभा-२ लाई चुनाव जित्ने निर्वाचन क्षेत्रको रुपमा राखेको छ ।

एमालेले आसन्न चुनावमा आफूले चुनाव जित्न सकिने निर्वाचन क्षेत्रको प्रारम्भिक आकलन गरेको छ । जसमा कपिलवस्तु २ मा चुनाव जित्न सकिने दाबी एमालेको छ ।

कपिलवस्तु–२ मा नवप्रवेशी बृजेशकुमार गुप्तालाई टिकट दिए उनले जित्ने हिसाब एमालेले निकालेको छ ।

गुप्ता गत चैत्रमा एमालेमा औपचारिक प्रवेश गरेका थिए । हालै एमालेको केन्द्रीय सदस्य बनेका गुप्ता ०७४ सालको निर्वाचनमा स्वतन्त्र रुपमा एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका थिए ।

एमालेले यस्तो आकलन गरेपनि यहाँको दलगत स्थिति भने भिन्न छ । गत बैशाख ३० को स्थानीय तह चुनावमा वडा अध्यक्षले पाएको मतका हिसाबले एमाले भन्दा कांग्रेस ३७ सय मतले अगाडी देखिन्छ ।

कांग्रेसले यो क्षेत्रमा ३० हजार ९९८ मत पाएको छ भने, एमालेले २७ हजार २९८ मत पाएको छ ।

यहाँ जसपा ६ हजार ९०८ मत पाउँदा नेकपा (माओवादी केन्द्र) को मत ४ हजार ४५९ आएको छ ।

नेकपा (एस)को मत भने ६ सय ९१ छ ।

लोसपाले ६ हजार ३८६, मत ल्याउदा राप्रपाले २ हजार ३५ मत ल्याएको छ ।

०५६, ०६४, ०७० र ०७४ को लगातार चुनाव जितेका गुप्ता चुनाव उठ्दा स्थानीय तहको चुनावी मरिणाम उल्टने एमालेको विश्वास छ ।

यस्तै एमाले लुम्बिनी प्रदेशको अर्घाखाँचीमा टोपबहादुर रायमाझी विजयी हुनेमा ढुक्क छ ।

यस्तै एमालेले पाल्पा–१, गुल्मी–२ र रुपन्देही–२ मा जित निकाल्न सकिने हिसाब निकोलेको छ । पाल्पा १ मा यसअघि एमालेकै दलबहादुर राना, गुल्मी–२ मा गोकर्ण विष्ट र रुपन्देही–२ मा विष्णु पौडेलले चुनाव जितेका थिए ।

महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र रहेको दाङ–२, रुपन्देही १ र पाल्पा २ लाई भने जित्ने संभावना रहेको तर जित निश्चित भइनसकेको भनिएको छ ।

एमालेले निकालेको प्रारम्भिक चुनावी नतिजामा देशभरका ३२ निर्वाचन क्षेत्र जित्ने दाबी गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९ मंगलबार ००:००  ७ : १७ बजे