१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

बर्तमान सरकारले जनताको निम्ति कुनै काम गर्न सकेन : उपाध्यक्ष नेम्वाङ



मायादेवी अनलाइन, जितपुर ।

नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको परमादेशबाट जन्मिएको अहिलेको बर्तमान सरकारले जनताका निम्ति कुनै काम गर्न नसकेको बताउनुभएको छ ।

उहाँले अहिले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताउँदै देशलाई निकास र विकास दिन अब एमालेको सरकार आउनुपर्ने बताउनुभयो । नेकपा एमाले कपिलबस्तुले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

पूर्व सभामुख समेत रहनुभएका नेम्वाङले निर्वाचन आयोगले सिफारिस गर्दा समेत बर्तमान सरकार निर्वाचन गराउन नचाहेको भन्दै नेकपा एमालेको पटक पटकको दबाबका कारण नै संघ र प्रदेशको निर्वाचनको मिति तोक्न बाध्य भएको औल्याउनुभयो ।

उहाँले नेकपा एमालेले ७ बर्ष मात्रै सरकार संचालन गर्ने अवसर पाए पनि नेपाली कांग्रेसको तुलनामा देशमा धेरै नै विकास गरेको दाबी गर्दै नेपाली कांग्रेसको नेतृत्वमा २७ बर्ष सरकार संचालन भए पनि देशमा कुनै पनि किसिमको विकास हुन नसकेको तर्क गर्नुभयो ।

यस्तै प्रशिक्षण कार्यक्रममा बोल्दै एमालेका केन्द्रिय सचिव एवम लुम्विनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले पार्टी संगठनको शुद्धिकरण, सुदृृढिकरण र पुनः व्यवस्थित गर्दै अहिले ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन भइरहेको बताउनुभयो ।

यस्तै उहाँले प्रशिक्षण कार्यक्रममा बोल्दै पार्टीलाई मजबुत बनाएर जानुपर्छ भन्ने विषयलाई समिक्षा गरेर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो । आफुले गरेको काम कर्तव्य र अधिकारको विषयमा पार्टीको बैठकमा जानकारी गराउनुपर्ने बताउदै जनप्रतिनिधि भएर काम गर्दा पार्टीसंग समन्वय गरेर काम गर्नुपर्ने औल्याउनुभयो ।

यस्तै नेकपा एमालेका पोलिटव्यूरो सदस्य बिमला घिमिरेले एमालेका जनप्रतिनिधिले गरेका काम उत्कृष्ट हुँदाहुँदै पनि प्रचार प्रसार गर्न नसकेको उल्लेख गर्नुभयो । अन्य पार्टीका जनप्रतिनिधि भन्दा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका नयाँ कामलाई पार्टी कमिटीले प्रचार प्रसार गर्न आवश्यक भएको बताउनुभयो ।

यस्तै केन्द्रिय सदस्य गिरिधारीलाल न्यौपानेले बोल्दै समाजवादीको व्यवस्थालाई पुरा गर्नका निम्ति संघ र प्रदेशको चुनावमा नेकपा एमालेले जित्नै पर्ने औल्याउनुभयो । उहाँले गठबन्धनले जित्यो भने कांग्रेसको नेतृत्मा समाजवाद नभई बर्बादवाद, दलालपुंजीवाद आउने दाबी गर्नुभयो ।

यस्तै लेखा आयोगका केन्द्रिय उपाध्यक्ष विष्णु पन्थीले नेकपा एमाले हरेक हिसाबले पहिलो पार्टी रहेको बताउदै एमाले पार्टीमा मुलुककै अनुशासित कार्यकर्ता भएको बताउनुभयो ।

जिल्ला कमिटी अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तव्य र सचिव सिवी गहतराजको संचालनमा सम्पन्न प्रशिक्षणमा जिल्ला कमिटीका सदस्य, स्थानीय पालिकाका निर्वाचित मेयर उपमेयर र वडाध्यक्ष, पार्टीका जिल्ला सल्लाहकार सदस्य, जिल्ला विभागका सदस्य, पालिका कमिटीका पदाधिकारी, जनसंगठनका केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष गरी करिव ७ सय बढी अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७९ आइतबार ००:००  ७ : २१ बजे