१४ मंसिर २०८१, शुक्रबार | Fri Nov 29 2024

कपिलवस्तुमा मुस्लिम र हिन्दुले संगै मनाए मोहर्रम



मायादेवी अनलाइन, बाणगंगा ।
दुई बर्षको कोरोना काल पछि कपिलवस्तुमा धुमधामसंग मोहर्रम पर्व मनाइएको छ । मुस्लिमहरुको तेस्रो प्रमुख चाड मोहर्रम पर्व कपिलवस्तुमा मंगलबार मुस्लिम र हिन्दुहरुलेसंगै मनाएका हुन् ।

एक आपसमा भाईचारा, धार्मिक सहिष्णुता र शुभकामना आदानप्रदान गर्दै हिन्दु र मुस्लिमहरुले हर्षौउल्लास र धुमधामसंग मोहर्रम मनाएका हुन् ।

सो अवसरमा मुस्लिमहरुले बिशेष नवाज पाठ गरी देशमा स्थायी शान्ति लागि उनीहरुले कामना समेत गरेका थिए । जिल्लाका सय भन्दा बढी स्थानमा लाग्ने करबला (चिहान वा युद्धको मैदान) मा मेला भर्न हजारौ श्रद्धालु भक्तजनहरु आएका थिए ।

यो पर्वमा हजरते इमामे हुसैनको प्रतिकको रुपमा तहाजियालाई पूजाअर्चना गरिएको थियो । जिल्लाका १० वटै पालिकामा रहेको कर्बलामा तहजियालाई सेलाइएको थियो ।

भाकल गरी तहजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृद्धि तथा मनोइच्छा पुरा हुने गरेको भक्तजनहरु बताउँछन् । साथै यो पर्व श्रद्धापूर्वक मनाउनाले परिवारिक सुख, शान्ति मिल्नुका साथै बिग्रेको काम समेत बन्ने धार्मिक बिश्वास रहेको छ ।

यसै बीच सदरमुकाम तौलिहवास्थित घरमा राखिएको ताहजियालाई तौलिहवा बजारमा परिक्रमा गरी कपिलवस्तु नगरपालिका– २ स्थित करबलामा बिसर्जन गरीएको थियो । सो अवसरमा मुस्लिम समुदायले अली र हुसेनको नारा समेत लगाएका थिए ।

मोहर्रमकै अवसरमा कपिलवस्तु नगरपालिका– २ मस्जिद टोलमा बस्ने मुस्लिमहरुले खीर, बिर्यानी लगायतका परिकार बितरण गरेका थिए । इस्लाम धर्मका प्रर्वतक ईमाम हुसेनको सम्झनामा यो पर्व मनाईन्छ । १४ सय बर्ष पहिले इमामे हुसैनले इस्लाम धर्मलाई बचाउन आफूसहित ७२ जना पूरै परिवारले प्राणको आहुती दिएको सम्झना स्वरुप मोहर्रम मनाउँदै आएको मुस्लिम धर्म गुरुहरु बताउँछन् ।

यो पर्वलाई लक्षित गरी जिल्लाका १० मध्ये ७ पालिकाले स्थानीय बिदा दिएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०७९ बुधबार ००:००  ७ : ३४ बजे