काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक विदेशी नेपाली नागरिकको हितमा रहेकोे बताएका छन् ।
पाँच दिने भ्रमणका लागि जापान पुगेका प्रचण्डले शनिबार बिहान नारिता विमानस्थलमा अवतरण भएपछि पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।
उनले नागरिकता विधेयकमा विदेशी नेपालीको हितलाई बढी ध्यान दिइएको बताए । उनले भने, ‘अहिले तपाईंहरुले यो पनि थाहा पाउनुभो, नागरिकताको एनआरएनसँग सम्बन्धित जुन विषय थियो । संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक जुन हामी अगाडि बढाउदै छौँ, नागरिकता विधेयक त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् । उनीहरूको हितलाई बढी ध्यान दिइएको छ ।’
पाँचदिने जापान भ्रमणमा रहेका प्रचण्डलाई टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसहित प्रवासी नेपालीले स्वागत गरेका थिए ।
पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।
प्रचण्डले आज जापानको फुकुवामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्ने कार्यक्रम छ । भोलि प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने कार्यक्रम छ ।
नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार स् आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रियामा सहभागि हुन प्रचण्ड जापान गएका हुन् ।
जापानमा रहँदा अध्यक्ष प्रचण्डले जापानका सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया