१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

डेंगीका बिरामी बढे, लुम्बिनी प्रादेशिक अस्पतालमा विरामीको चाप



बुटवल ।
साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन् । असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेपछि भने बिरामी थपिने क्रम बढिरहेको बताए ।

अस्पतालका अनुसार विगतका वर्षमा साउन र भदौमा डेंगीका बिरामी आउने गरेकोमा यसवर्ष भने असारदेखि नै बिरामी आउने गरेकोले भदौसम्म बिरामीको संख्या धेरै थपिन सक्ने खतरा देखिएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. ढकालले दुई वर्ष पहिले स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले विभिन्न सचेतनाका कार्यक्रमसँगै लामखुट्टे खोज र नष्ट गर अभियान सञ्चालन गरे पनि यसवर्ष त्यो अभियान शून्य हुँदा बिरामी बढेको हुन सक्ने बताए ।

डा. ढकालले डेंगी लाग्नबाट जोगिने एक मात्र उपाय लामखुट्टेको टोकाइबाट जोगिनु भएकोले लामखुट्टेको बासस्थानको खोजी गरी नष्ट गर्नुपर्ने बताउँछन् ।

अस्पतालका सूचना अधिकारी डा. नेत्र राना लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै दैनिक १५/१६ जनासम्म डेंगीका बिरामी थपिने गरेकोले ज्वरो आयो भने पनि सामान्य ज्वरो होला भनी घरमै नबस्न सुझाव दिन्छन् ।

डेंगीको संक्रमण अलि गम्भीर देखिएको, बान्ता हुने, खाना खान नसक्ने, रगतमा प्लेट्लेट्स घटेको जस्ता बिरामीलाई भने अस्पतालमै भर्ना गरेर उपचार गरिएको डा. रानाले जानकारी दिए ।

प्रकाशित मिति : १९ श्रावण २०७९ बिहिबार ००:००  ६ : ०८ बजे