काठमाडौं ।
नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ ।
पूर्वी खण्डमा भौतिक प्रगति १७ दशमलव ७३ प्रतिशत र वित्तीय प्रगति १५ दशमलव १७ प्रतिशत रहेको छ ।
पश्चिम खण्डमा भौतिक प्रगति १९ दशमलव पाँच प्रतिशत र वित्तीय प्रगति १० दशमलव ७१ प्रतिशत रहेको छ ।
दुबै प्याकेजमा निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेडलाई दिइएको थियो । दुबै ठेक्काको अवधि यही २२ गते सकिँदैछ ।
दुबै ठेक्कामा अवधि थपका लागि प्रक्रिया अघि बढाइएको नारायणगढ–बुटवल (पूर्वी खण्ड) प्रमुख रमेश दिष्टीले बताए । उनका अनुसार दुई वर्ष अवधि थपका लागि सिफारिस गरिएको छ ।
अहिले सडकमा सामान्य मर्मतको काम मात्रै भइरहेको उनले बताए । अहिले तत्काल ठेक्काको अवधि थप नहुँदा सडकको मर्मतसम्भार र सञ्चालनमा चुनौती हुने आयोजना निर्देशनालय (एशियाली विकास बैंक) का आयोजना प्रमुख सुशीलबाबु ढकालले बताए ।
नयाँ ठेक्कामा जाँदा समय बढी लाग्ने र लागत बढ्ने हुँदा स्रोतको अभाव हुने देखिएको छ । कानुनी प्रक्रियामा जाँदा ठेक्का तोडिसकेपछि पनि व्यवसायीबाट रकम असुल गर्न गाह्रो हुने उनले बताए ।
दुबै ठेक्कामा निर्माण व्यवसायीले ७३० दिनको थप म्याद माग गरेकामा परामर्शदाताबाट करारको सर्त अनुसार पूर्वीमा ३८६ र पश्चिम खण्डमा ३६५ दिन सिफारिस गरिएको छ ।
प्रतिक्रिया