गुल्मी ।
गुल्मीमा पछिल्लो तीन वर्षमा ३३९ जना हराएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि ०७८/७९ सम्म उक्त सङ्ख्यामा महिला, बालक, बालिका र वृद्ध हराएका हुन् । हराएकामध्ये २२ जना अझै भेटिएका छैनन् । बाँकी ३२४ जना सम्पर्कमा आएका थिए । आर्थिक वर्ष ०७६/७७ मा ६९ महिला, सात बालक, २१ बालिका र वृद्ध गरी कूल १०८ जना हराएका थिए । हराएकामध्ये सबै सम्पर्कमा आएका थिए ।
आर्थिक वर्ष ०७७/७८ मा ७३ महिला, पाँच बालक, १० बालिका र चार वृद्ध गरी कूल ९२ जना सम्पर्कविहीन भएका थिए । तीमध्ये चार महिला, एक बालक र दुई वृद्ध गरी सातजना अझैसम्म पनि नभेटिएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आव ०७८/७९ मा ९५ महिला, ११ बालक, ३० बालिका र तीन वृद्ध गरी एक सय ३९ जना हराएका थिए । तीमध्ये १० महिला, नौ बालक र तीन बालिका गरी १५ जना अझैसम्म पनि नभेटिएको उक्त कार्यालयका सूचना अधिकारी (डीएसपी) माधवराज खरेलले जानकारी दिए । हराएकामध्ये अधिकतर १७ देखि ४० वर्षसम्मका महिला थिए ।
श्रीमान् वैदेशिक रोजगारीमा गएका कारण श्रीमती परपुरुषसँग लागेर भागेको घटना धेरै हुने गरेको उनले बताए । त्यसका साथै घरेलु हिंसा, उमेर नपुग्दै प्रेम गर्ने र भागी विवाह गर्नेलगायत कारण महिला हराउने गरेको पाइएको छ ।
यस्तो समस्या समाधानका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनेलगायत कार्य गरिए मानिस हराउने सङ्ख्यामा कमी आउने सूचना अधिकारी खरेलको भनाइ थियो। हराएका मानिसहरु पत्ता लगाउन उनीहरुको मोबाइल, फेसबुक, इन्टरनेटका साथै देशका अन्य ठाउँका प्रहरीलगायत स्रोतहरु परिचालन गरिएको गरिएको पनि उनले जानकारी दिए।
प्रतिक्रिया