२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024

उद्योग बाणिज्य संघ र पत्रकारले गरे टेकराज पन्थीलाई विदाई



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट हालै सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई एक कार्यक्रमका बीच विदाई गरिएको छ ।

बुटवल उप-महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा जान लागेका पन्थीलाई कपिलवस्तु उद्योग बाणिज्य संघ, मायादेवी मिडिया ग्रुप प्रालि र पत्रकारहरुले शुक्रबार विदाई स्वरुप दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेका हुन् ।

कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालयमा भएको विदाई कार्यक्रममा बोल्दै पन्थीले बाणगंगामा छोटो समय रहदा सबै क्षेत्रबाट उल्लेख्य साथ पाएको बताए ।

छोटो अवधिमा जनप्रतिनिधिसंगै फोहर व्यवस्थापन, जीतपुर-चारनम्बर सडकखण्ड, बसपार्कका लागि डिपिआर निर्माण लगायतका महत्वपूर्ण काम गरेको भन्दै यसले दुरगामी प्रभाव पार्ने जनाए ।

नगरलाई सुशासन र पारदर्शीतामा अब्बल बनाउन पनि आफुले उल्लेख्य काम गरेको पन्थीले बताए । निजी क्षेत्रको सहकार्य बीना विकास निर्माणको काम राम्रो नहुने भन्दै यसमा आफुले काम गर्दा गर्दै विदाई हुन परेको उनले जनाए ।

आफु मिडियामैत्री भएको भन्दै छोटो बसाईमा मिडियाको साथ राम्रै पाएको उनले स्मरण गरे । सरकारले गरेका काम जनतालाई थाहा नदिनु राम्रो नभएको भन्दै आफुले मिडियासंगै रहेर काम गर्न मन पार्ने उनले जनाए ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले हालै छोटो बसाईमा थुप्रै काम भएका बताए । पन्थीको कार्यशैली आफुले पनि मन पारेको भन्दै कपिलवस्तु महोत्सवमा उहाँले गरेको कामलाई सधै स्मरण गर्ने उनले सुनाए ।

मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीले बाणगंगालाई मिडियामैत्री बनाउन पन्थीले गरेको योगदानको चर्चा गरे ।

कार्यालय प्रमुख भएर आउँदा पत्रकारसंग राखेको अन्तरक्रिया कार्यक्रमबाट आफुहरु प्रभावित भएको भन्दै छोटो समयमा उहाँसंग गरेका काम सधैं सम्झनायोग्य रहेको अधिकारीले बताए ।

नेपाल पत्रकार महासंघका कपिलवस्तु शाखा उपाध्यक्ष समेत रहेका अधिकारीले छोटो समयमा पन्थीले बाणगंगाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै चर्चा गरे ।

कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेल, नेपाली कांग्रेस बाणगंगा नगर सचिव सूर्य बराल, रेडियो मायादेवीका निर्देशक दिपक अनुरागी, बैखरी डटकमका सन्चालक अशोक पौडेल, हर्टविट एफएमका स्टेशन म्यानेजर हरि घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  ८ : ५९ बजे