बुटवल ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, रामनगरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको छ । दुई चरण गरी ५ वर्षमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक हजार जना अट्ने सभाहल छ ।
संघीय सरकारको सहरी विकास मन्त्रालयको १ अर्ब ११ करोड लागतमा बनाइएको सम्मेलन केन्द्रमा केन्द्रमा चार सय गाडी र चार सय मोटरसाइकल पार्किङको व्यवस्था रहेको बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण आयोजनाका प्रमुख इन्जिनियर धर्मेन्द्र पन्थीले रातोपाटीलाई बताए ।
सम्मेलन केन्द्रमा हेलिप्याडसमेत बनाइएको छ । २०७१ साल पुसबाट ९।६ बिगाहामा केन्द्र निर्माण सुरु गरिएको थियो । सम्झौता भएपछि झन्डै २ वर्ष रुख कटानका लागि समस्या व्योहोरेको निर्माण कम्पनीले वन मन्त्रालयको सहमतिपछि ३६ महिनामा काम सकेको उनले बताए ।
सम्मेलन केन्द्रका लागि विद्युतको छुट्टै सब–स्टेसन राखिएको छ । ६३० केभी ए क्षमताको विद्युत् ट्रान्सफर्मर राखिएको छ । यस्तै प्रवेश हुने र बाहिरिने गरी ५ वटा अलग–अलग गेटको व्यवस्था छ । भौतिक रूपमा तयार भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कसले सञ्चालन गर्ने भन्नेमा सरकारले अझै निर्णय गरेको छैन ।
काठमाडौँको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, गोदावरी हलको मोडालिटीमा जाने कि स्थानीय तहलाई सञ्चालनको जिम्मा दिने भन्नेमा सहरी विकास मन्त्री मेटमणि चौधरीले सामान्य छलफल गरेका छन् । संघ, प्रदेश र स्थानीय तह गरी तीन तहकै सरकारबीच यसको सञ्चालन मोडालिटीबारे छलफल भए पनि अझै टुङ्गो लागेको छैन ।
प्रतिक्रिया