काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईइ परीक्षा २०७८ को नतिजा सार्वजनिक भएपछि अहिले विद्यार्थीहरु आफ्नो ग्रेड अनुसारको उच्च शिक्षा अध्ययनका लागि धाइरहेका छन् । कतिपयलाई भने कुन ग्रेस ल्याएपछि के पढ्न पाइन्छ ? एसईई पछि के गर्ने भन्ने समस्याले सताएको छ ।
आजभोलि संकाय र प्लस टु भन्ने छैन । संकाय नभएपछि साइन्स, म्यानेजमेन्ट, एजुकेसन, मानविकी भन्न मिल्दैन ।
यदि संकाय हुन्थ्यो भने निश्चित विषयहरू मात्र राखिएको हुन्थ्यो । अहिले ११ र १२ लाई विद्यालय तहकै शिक्षामा ल्याइएको छ । त्यसैले संकाय पनि छैन । जसरी ८, ९, १० कक्षा भनिन्छ । ११ र १२ लाई पनि त्यसैगरी बुझ्नुपर्छ । ११ र १२ मा विषय छनोटमा ध्यान दिइएन भने उच्च शिक्षामा कुन संकाय पढ्ने ? के पढ्ने भन्नेमा समस्या हुन्छ ।
११ र १२ मा पढेको विषयले नै उच्च शिक्षाको ढोका खुल्ने हो । उच्च शिक्षामा के पढ्ने हो, त्यसैका आधारमा विषय छनोट गर्नुपर्ने हुन्छ । ११ मा ३ वटा अनिवार्य विषय छन् भने अरु ऐच्छिक विषय छन् ।
अनिवार्य ३ विषय
–नेपाली
–अंग्रेजी
–सामाजिक अध्ययन
चारवटा समूहमा ७९ वटा ऐच्छिक विषय छन् । ३ वटा विषय विद्यार्थीले छान्नुपर्ने हुन्छ । यदि चौथो समूहबाट पनि विद्यार्थीले पढ्न चाहेमा पाउनेछन् । तर, विद्यार्थीलाई भार धेरै पर्ने भएकाले चौथो समूहबाट पढ्ने सम्भावाना कम हुन्छ । विद्यार्थीले आफ्नो रुचिअनुसारको विषय छान्न पाउँछन् । चारवटा समूहमा ७९ वटा ऐच्छिक विषय छन् ।
कुन– कुन विषय छन् त ?
ऐच्छिक पहिलो पत्र
ऐच्छिक पहिलो पत्रमा १५ वटा विषय छन् । भौतिक विज्ञान, लेखाका सिद्धान्तहरू, ग्रामीण विकास, विधिशास्त्र र कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा र मूर्तिकला पढ्न सकिन्छ ।
ऐच्छिक दोस्रो पत्र
दोस्रो पत्रमा १४ वटा विषय छन् । रसायन विज्ञान, शिक्षा र विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, भाषाविज्ञान, व्यवसाय अध्ययन, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, बागवानी, खाद्यपोषण, नृत्य यो पत्रमा छन् ।
ऐच्छिक तेस्रो पत्र
तेस्रो पत्रमा ३० वटा विषय छन् । जीव विज्ञान, अर्थशास्त्र, पर्यटन र पर्वतारोहण अध्ययन, कम्प्युटर विज्ञान, बुढ्यौली शिक्षा तथा स्याहार शिक्षा, योग तथा अध्ययन, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, आमसञ्चार अध्ययन, संस्कृति, फेसन डिजाइनिङ, मूर्तिकला, पशुपालन, पक्षीपालन र माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापानिज, कोरियन, उर्दू, फ्रेन्च, हिब्रु, अरेबिक, संस्कृत, पाककला र बजारशास्त्र यो पत्रमा छन् ।
ऐच्छिक चौथो पत्र
चौथो पत्रमा २० वटा विषय छन् । गणित, प्रायोगिक गणित, वाणिज्य गणित, मानवअधिकार, पुस्तकालय तथा सूचना विज्ञान, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध दर्शन, प्रायोगिक कला, गायन, चित्रकला, रेशमखेती र मौरीपालन, सौन्दर्यकला र केसकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ र वायरिङ, आन्तरिक सजावट र होटल व्यवस्थापन यो पत्रमा छन् ।
यी चारवटा समूहबाट ३ वटा विषय छान्न विद्यार्थीलाई समस्या पर्ने भएको छ । कुन विषय पढ्ने ? कुन विषय पढ्दा के बनिन्छ ? भोलिको करियर कस्तो बन्छ ? यी विषयमा विद्यार्थीलाई राम्रो परामर्शको आवश्यक छ ।
अब कसरी विषय छनोट गर्ने त ?
विद्यार्थी प्रधान विषय
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले विद्यार्थीले इच्छाअनुसार विषय छनोट गर्न सक्ने बताए । ‘विद्यार्थीले इच्छाअनुसार विषय छनोट गर्न सक्छन्,’ उनले भने, ‘विद्यार्थी प्रधान विषय हो । नयाँ पाठ्पुस्तक छन् । त्यसैले स्कुल, शिक्षक, अभिभावक र अग्रजले विद्यार्थीलाई सही परामर्श दिनुपर्छ ।’
उच्च शिक्षाका लागि अहिले नै विषय छनोट
डाक्टर इन्जिनियर बन्ने हो भने अनिवार्य ३ विषयसँगै जीव विज्ञान, भौतिक विज्ञान, रसायन विज्ञान रोज्नुपर्ने हुन्छ । बैंकर वा व्यवसाय गर्ने हो भने लेखाका सिद्धान्त, फाइनान्स, अर्थशास्त्रजस्ता विषय रोज्न सकिनेछ । कानुन क्षेत्रमा जाने हो भने संवैधानिक कानुन, कार्यविधि कानुन पढ्न सकिनेछ । एजुकेसनमा जाने हो भने शिक्षा, बालविकासका विषयहरू छन् । मानविकीमा जाने हो भने मनोविज्ञान, भाषा, पत्रकारितालगायतका थुप्रै विषय छन् । सबै विषय पढाउने शिक्षक सबै विद्यालयमा नहुन सक्छन् । त्यसैले नजिकको अन्य विद्यालयमा गएर पढ्न सकिन्छ,’ निर्देशक भट्टराईले भने, ‘दबाबमा विद्यार्थीलाई पढाउनु हुँदैन ।’
रेडियो टेलिभिजन र अनलाइनबाट परामर्श
प्राध्यापक बालचन्द्र लुइँटेलले ११ को कोर्स एकल पथीय भएकाले विद्यार्थीको रुचि र क्षमता हेरेर विषय छनोट गर्नुपर्ने बताए । ‘म के बन्ने ? रुचि र क्षमताअनुसार मैले कुन विषय पढ्नुपर्छ, त्यसमा विद्यार्थीले ध्यान दिनुपर्छ,’ उनले भने, ‘७९ वटा विषयबाट ३ वटा छान्नुपर्ने भएकाले विद्यालय, शिक्षा मन्त्रालय, रेडियो टेलिभिजन र अनलाइनबाट कार्यक्रम गरेर विद्यार्थीलाई विषयको महत्त्वबारे परामर्श दिइनुपर्छ । यसले विषय छनोटमा विद्यार्थीलाई सहज हुन्छ ।’
विषय छनोटसँगै यी कुरा ख्याल गरौँ
– विषय छनोटमा विद्यार्थीलाई प्रेसर नदिने ।
– रुचिअनुसार विषय पढ्ने ।
– विज्ञबाट सल्लाह सुझाव लिने ।
– आफ्नो आर्थिक अवस्था हेर्ने ।
– आफूलाई पढ्न सक्छु भन्ने लगेको विषय रोज्ने ।
– आफूले पढ्ने विषयको बजारमा माग कति छ ?
– रोजगारमूलक विषय छ छैन हेर्ने ?
– पढिसकेपछि फाइदा बेफाइदा हेर्ने ।
– विद्यालयको भौतिक संरचना ।
– ल्याब÷लाइब्रेरी ।
– कलेजको व्यवस्थापन ।
– शिक्षक कस्ता छन् ?
प्रतिक्रिया