१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

बाणगंगाका प्रमुख प्रशासकीय अधिकृत पन्थीको बुटवलमा सरुवा



मायादेवी अनलाइन, वाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी सरुवा भएका छन् । पन्थी बुटवल उपमहानगरपालिकामा सरुवा भएका हुन् । पन्थी राजपत्रांकित प्रथम श्रेणीका नेपाल सरकारका उपसचिव हुन् । पन्थी बाणगंगा नगरपालिकामा रहँदा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै चर्चा हुने गरेको थियो ।

पन्थी बाणगंगा नगरपालिकामै रहेर काम गर्न इच्छुक रहे पनि अन्य आन्तरिक कारणले आफै सरुवा भएको बुझिएको छ । नगरपालिकाकै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतलाई दुःख दिने उद्देश्यका साथ अख्तियारमा उजुरी दिने समेत गर्ने गरेको खुल्न आएको छ ।

बाणगंगामा कुनै पनि प्रशासकीय अधिकृत एक बर्ष पनि टिक्न नसक्ने प्रवृत्ति रहदै आएको छ । जसको मुख्य कारण यहाँको आन्तरिक विषय तथा काममा राजनीति हुने गरेको पाईएको छ ।

नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदा विषयगत शाखा प्रमुखहरुले सिमित स्वार्थ पुरा गर्न विभिन्न मागहरु गर्ने र ती मागहरु पुरा नहुँदा जनप्रतिनिधिहरुसंग लागेर दोहोरो चरित्र देखाउने गरेको यस अघिका एक प्रमुख प्रशासकीय अधिकृतले नाम नखुलाउने सर्तमा बताए ।

पन्थीले देशका ४५ वटा भन्दा धेरै पालिकामा काम गरेका छन् । सेवाग्राहीका फाइल ५ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतका रुपमा प्रशंसा कमाएर उनले आफ्नो बेग्लै छवि बनाएका छन् । पन्थी बुटवल लक्ष्मीनगर निवासी हुन् ।

यसैबीच पन्थीको सरुवासँगै अब बाणगंगामा कहाँ बाट को आउँछन् भन्ने चासोको विषय छ । नगर प्रवक्ता विष्णु पौडेलका अनुसार बाणगंगामा आउने नयाँ प्रशासकीय अधिकृतको विषयमा अझै क्लिएर भएको छैन् । शुक्रबारसम्म सरुवा भई आउने प्रशासकीय अधिकृतको विषयमा जानकारी हुने उनले जनाए ।

प्रकाशित मिति : १२ श्रावण २०७९ बिहिबार ००:००  ५ : ३४ बजे