काठमाडौँ ।
डेढ वर्षदेखि नेतृत्वविहीन लुम्बिनी प्रदेश सभाका विषयगत समितिले पूर्णता पाउने भएका छन् । प्रदेश सभाले चार विकास समितिका नेतृत्वका लागि निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
बुधबार भएको उम्मेदवारको मनोनयन दर्तामा चारवटै समितिका सभापति निर्विरोध भएका छन् । तर, त्यसको अनुमोदन समितिको बैठकले गरेपछि पूर्णता पाउने प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनका अनुसार समितिको नेतृत्वमा ४ विषयगत समितिमा तीन एमाले र एक जनमोर्चाले पाएका छन् । प्रदेश सभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका विष्णु पन्थी निर्विरोध भएका हुन् ।
त्यस्तै सामाजिक विकास समितिमा एमालेकै बाबुराम गौतम र कृषि, वन तथा वातावरण समितिको सभापतिमा जाल्पा भुसाल निर्विरोध भएका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाकी तारा जिसी निर्विरोध भएकी छन् ।
सार्वजनिक लेखा समितिका सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा अर्याल, पार्वती पुन गहतराज र गीता थापा रहेका छन् । त्यस्तै सामाजिक विकास समितिमा कमलादेवी विक, चिन्तवती कुर्मी, अर्जुनकुमार केसी, पुरनमान बज्राचार्य, हरिप्रसाद रिजाल, वीरेन्द्रकुमार कानौडिया, पुष्पा थरुनी, तेजबहादुर ओली, दिपा विक सदस्य छन् । कृषि वन तथा वातावरण समितिमा आरती पौडेल, कमलराज श्रेष्ठ, कविराम थारु, चेतनारायण आचार्य, कुलप्रसाद पोखरेल, अष्ठभुजा पाठक, रुन्द्रावती शर्मा, दिपेन्द्रकुमार पुन मगर, लौटी थारु सदस्य छन् । अर्थ उद्योग पर्यटन समितिमा थानकुमारी चापागाईं, भगवतीदेवी भण्डारी, दिपेन्द्रकुमार अधिकारी, तुलसी चौधरी, लीला गिरी, युवराज खनाल, भूवनेश्वर चौधरी, निर्मला क्षेत्री, मोहम्मद याकुव अन्सारी, कृष्णा केसी, तुलाराम घर्तीमगर र निर्मला मुडवरी भट्टराई छन् ।
सचिव पुन मगरका अनुसार बुधबार समितिको नेतृत्वका लागि उम्मेदवारी दिने समय तोकिएको थियो । तोकिएको समयमा सभापतिमा चार जनाको मात्र उम्मेदवारी परेको हो । ‘सबै पदमा एकल उम्मेदवारी परेको छ,’ उनले भने, ‘अब सम्बन्धित समितिको बैठकले अनुमोदन गर्नेछ ।’ विषयगत समितिमध्ये अर्थ उद्योग पर्यटन विकास समितिको सभापति प्रदेश सभामा एक सदस्य रहेको जनमोर्चाले पाएको छ । गठबन्धन सरकारलाई समर्थन गरेबापत जनमोर्चाले विकास समितिको सभापति पाएको हो । गठबन्धनलाई मत दिएर सरकार बनाउन सहयोग गरेपनि जनमोर्चा सरकारमा गएको छैन । प्रदेश सभा बैठकमा पनि जनमोर्चाकी प्रदेश सभा सदस्य तारा जिसी विपक्षी दलको कुर्सीमा बस्ने गरेकी छन् ।
लामो समयदेखि विषयगत समितिहरु नेतृत्वविहीन हुँदा प्रदेश सरकारले गर्ने कामकारबाहीमा पनि निगरानी पुग्न सकेको थिएन । अन्तिम समयमा आएर भएपनि समितिले पूर्णता पाएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । ‘हामीले छलफलबाटै नेतृत्वमा सहमति गरेका हौं,’ उनले भने, ‘समितिमा रोकिएका विधेयक र अन्य अनुगमन तथा निगरानीका काम अघि बढ्नेछन् ।’
प्रतिक्रिया