१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

दाङमा सम्बन्ध विच्छेदका घटना बढे



दाङ ।

दाङमा श्रीमान श्रीमतीबीच सम्बन्ध विच्छेदका घटना अत्याधिक बढेका छन् । जिल्ला अदालतमा परेका कुल मुद्दामध्ये करिब २४ प्रतिशत सम्बन्धविच्छेदका मुद्दा हुने गरेको दाङ जिल्ला अदालतले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७८-०७९ मा दाङ जिल्ला अदालतमा परेका कुल ४ हजार ८ सय मुद्दा मध्ये १ हजार ३८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । एक अर्का माथिको अविश्वास, व्यक्तिगत स्वतन्त्रता जस्ता कुराले सम्बन्ध विच्छेद गर्ने प्रवृत्ति बढेको कानून व्यवसायीहरु बताउँछन् । वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता सामाजिक समस्या सम्बन्ध विच्छेद गराउने कारक देखिएको न्यायाधीशहरुको भनाइ छ । अदालतमा परेका मुद्दाको प्रकृति हेर्दा नेपाली समाज कुन दिशातर्फ गैरहेको छ भन्ने प्रष्ट देखिने गरेको जिल्ला न्यायाधीश रितेन्द्र थापा बताउनु हुन्छ ।

वैदेशिक रोजगारी, गरिबी, अशिक्षा जस्ता कारणले बुवाआमाले सम्बन्ध विच्छेद गर्दा उनीहरुका छोराछोरीलाई नकारात्मक असर पर्ने गरेको समाजशास्त्रीहरु बताउँछन् । बुवाआमा एक अर्कासँग छुट्टिएर बस्दा त्यसको मनोवैज्ञानिक असर उनीहरुका बालबालिकामा परेर सामाजिक संरचना नै बिग्रने महेन्द्र बहुमुखी क्याम्पस दाङका समाजशास्त्रका प्राध्यापक नवराज सुवेदी बताउनु हुन्छ ।

सम्बन्ध विच्छेदसँगै गएको वर्ष जिल्ला अदालतमा सरकारवादी मुद्दामा सबै भन्दा बढी १ सय २९ वटा जबरजस्ती करणीका मुद्दा परेका छन् । यस्तै देवानीतर्फका सबैभन्दा बढी अंश सम्बन्धी २ सय ५८ वटा मुद्दा परेको दाङ जिल्ला अदालतले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७९ बुधबार ००:००  १ : ५७ बजे