२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

लिङ्देन भन्छन्ः सरकार सत्ता टिकाउनमै केन्द्रित छ



काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकार सत्ता टिकाउनमै केन्द्रित रहेको आरोप लगाउनुभएको छ । आइतवार नेपाल प्राज्ञिक परिषद् केन्द्रीय कार्य समितिले नेपालको वर्तमान अवस्था तथा वैकल्पिक मार्ग चित्रको आवश्यकता विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो ।

अध्यक्ष लिङ्देनले अहिले देशको परिस्थिति सामान्य आँखाले देखेजस्तो नरहेको उल्लेख गर्दै देश पूर्णरूपले अभिभावकविहीन भएको बताउनुभयो । उहाँले अहिलेको सरकारका लागि भ्रष्टाचार र बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गर्ने लगायतका विषयहरू सामान्य विषय बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आज देश एक प्रकारले पूर्णरूपले अभिभावकविहीन बनेको छ । अहिलेको सरकार सत्तामा टिक्नका लागि जे पनि गरिरहेको छ । भ्रष्टाचार त समान्य विषय भएको छ । बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गर्ने कुरा त सामान्य भएको छ । नेपाली जनताको चाहना विपरीत एमसीसी, एसपीपी सम्झौता गर्ने र देशलाई कमजोर बनाउने काम भइरहेको छ । कुनै पनि बेला देशले आफ्नो अस्तित्व गुमाउन सक्ने अवस्था देखिन थालेका छन् । त्यस कारण देशलाई माया गर्ने र दुर्घटनाबाट जोगाउने, हाम्रा भाइछोराले देशमै गरेर खाने गरेर सबै एक ठाउँमा हुनुपर्ने समय आएको छ ।’

अध्यक्ष लिङदेनले राप्रपाले उठाएका मुद्दाहरू कहिल्यै पूरा हुँदैनन् भन्ने गरेको भए पनि एक दिन अहिलेका प्रमुख दलहरू राप्रपाले उठाएको मुद्दामा सहमत हुने दाबी गर्नुभयो । आफूले देश र नागरिकको विकासका मुद्दा उठाएकोले सबै पार्टी सहमत हुने दिन नजिक रहेको उहाँको भनाइ छ । अध्यक्ष लिङ्देनले राप्रपाले अघि सारेका मुद्दा र मार्गचित्र देश विकास र देशको अहिलेको समस्या समाधानका लागि अपरिहार्य रहेको दाबी गर्नुभयो ।

अध्यक्ष लिङ्देनले देशमा रहेका विद्यमान समस्याको समाधान पूर्ण समानुपातिक सांसद, अभिभावकीय संस्थाको रूपमा राजा, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहेको दाबी गर्नुभयो । उहाँले आफ्नो पार्टी आउने प्रदेश र प्रतिनिधि सभाको चुनावमा यो मुद्दालाई मुख्य विषय बनाएर नागरिकको बीचमा जाने उद्घोष गर्नुभयो ।

प्रकाशित मिति : ९ श्रावण २०७९ सोमबार ००:००  ६ : ०७ बजे