५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

वैज्ञानिक बन ब्यवस्थापन महासंघको अध्यक्षमा कपिलवस्तुकी सेन



मायादेवी अनलाइन, बाणगंगा ।
वैज्ञानिक बन ब्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालको अध्यक्षमा सेनु सेन सर्वसम्मत चयन भएकी छिन् ।

कपिलवस्तुकी सेन यसभन्दा अगाडी महासंघको तदर्थ समितिको संयोजक थिइन् ।

लामो समय बाणगंगामा रहेको श्रृङ्गीघाट सामुदायिक बन उपभोक्ता समितिको नेतृत्व गरेकी सेनलाई अब राष्ट्रिय नेतृत्व गर्ने अवसर आएको हो ।

महासंघको प्रथम अधिवेशन तथा साधारणसभा रुपन्देहीको देवदहमा शनिबार भएको थियो ।

अधिवेशनबाट महासंघको उपाध्यक्षमा बिमला सापकोटा, महासचिवमा फर्साराम भुसाल, सचिवमा कृष्ण बहादुर खत्री र कोषाध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् ।

महासंघमा ४३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक दामोदर शर्माले बताए ।

अधिवेशनमा प्रदेश नं. १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुुदुर पश्चिम प्रदेश गरि ५ प्रदेशका बिभिन्न जिल्लाहरुबाट ५ सय ४३ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अधिवेशन हुनु पूर्व भएको पहिलो साधारणसभामा बैज्ञानिक वन व्यवस्थापनको पृष्ठभूमिको बारेमा जानकारी दिइएको थियो भने बार्षिक प्रतिवेदन र आगामी कार्ययोजनाको बिषयमा संस्थाका अध्यक्ष रेनु सेनले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

केन्द्रिय महासचिव मधु बिलास अधिकारीले प्रगती प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका बन तथा बातावरण मन्त्री सुरेन्द्र बहादुर हमालले बैज्ञानिक वन व्यवस्थापनका लागि मन्त्रालयको पूर्ण सहयोग रहने बताए । आफू मन्त्री भएर आए देखि नै बैज्ञानिक बन व्यवस्थापनको लागि सकारात्मक रुपमा कदम चाल्दै आएको उनले बताए ।

बन निर्देशनालय भैरहवाका प्रमुख जिवन पंगेनीले नेपाल सरकारले खारेज गरेको नियमामावलीलाई यस लुम्बिनी प्रदेश सरकारले फिर्ता ल्याउन सफल भएको बताए । बैज्ञानिक वन व्यवस्थापन लागू गर्नु गलत थिएन अध्ययन गरेरै धेरै समयपछि प्रदेशले ऐन र नियमावली बनाउन समेत सफल हुनु गर्वको बिषय भएको बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९ आइतबार ००:००  ७ : ४३ बजे