५ माघ २०८१, शनिबार | Sun Jan 19 2025

वर्षा हुँदा कपिलवस्तुका किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई



मायादेवी अनलाइन, बाणगंगा ।
लामो प्रतिक्षा पछि कपिलवस्तुमा वर्षा शुरु भएपछि यहाँका अधिकांश किसानलाई अहिले रोपाइँ गर्न भ्याइनभ्याई छ ।

समयमा वर्षा नहुँदा केही किसानले रोपेको धान पानी अभावका कारण सुक्ने अवस्थामा पुगेको थियो । अधिकांशको ब्याडसमेत सुक्न लागिसकेकै बेला बुधवार बिहानदेखि परेको वर्षाले किसानलाई राहत भएको छ ।

यस वर्ष धान रोप्न नपाइने हो कि भन्ने चिन्तामा रहेका जिल्लाका अधिकांश किसान वर्षा भएपछि खुशी भएर आआफ्नो खेतमा रोपाइँ गर्न व्यस्त रहेको कृषि ज्ञान केन्द्र कपिलवस्तुले जनाएको छ ।

साउन शुरु भएपछि ढिलो वर्षा शुरु भएका कारण किसानलाई रोपाइँ गर्न चटारो परेको हो । मायादेवी ३ का किसान सन्दीप तिवारीले जेनतेन गरी केही खेतमा रोपेको धान पानी नपर्दा सुक्ने अवस्थामा पुगे पनि पानी पर्दा खुसी लागेको बताए । अब यस वर्ष पनि खेती राम्रो हुन्छ भन्ने आशा पलाएको उनको भनाइ छ ।

खडेरीका कारण धान उत्पादनमा समस्या हुने हो कि भन्ने त्रास तत्कालका लागि टरेको महाराजगन्ज नगरपालिका वडा नं. २ का किसान कमल गुप्ताले जनाए ।

प्रकाशित मिति : ७ श्रावण २०७९ शनिबार ००:००  ७ : ४७ बजे