७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गएको आर्थिक बर्षमा बुद्धभूमिले गरेको कामको यस्तो छ महत्वपूर्ण प्रगति



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले भर्खर सकिएको आव ०७८/७९ मा ११ किलोमिटर बढी बाटो पक्की बनाएको छ भने, २१ किलोमिटर भन्दा बढी बाटो ग्रोभेल गरेको छ ।

१० वडा रहेको बुद्धभूमिले ६ किलोमिटर बढी सडकमा पिसिसि ढलान गरेको छ ।

नगरपालिकाले गएको आर्थिक बर्षमा गरेको कामको संक्षिप्त जानकारी दिदैं रु. १ अर्ब १८ करोड २० लाख बजेट विनियोजन भएकोमा रु. ८० करोड ३१ लाख २६ हजार रुपौयाँ खर्च भएको नगरका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीले जानकारी दिनुभयो ।

जस मध्ये चालु तर्फ रू. ४४ करोड ८६ लाख १७ हजार (८२ प्रतिशत) र पुँजीगत तर्फ रू. ३५ करोड ४५ लाख ९ हजार (७० प्रतिशत) वित्तीय प्रगति हासिल भएको हो ।

गत आवमा संघीय सरकारबाट प्राप्त समपुरक तथा विशेष अनुदानमा सञ्चालित आयोजनाहरू मध्ये वर्षको अन्त्यमा खर्च नभई बचत भएको रकम प्रदेश सरकारबाट प्राप्त समपुरक तथा विशेष अनुदानमा सञ्चालित आयोजनाहरू मध्ये वर्षको अन्त्यमा खर्च नभई बचत भएको रकम सम्बन्धित निकायमा फिर्ता गरिएको पनि नगरपालिकाले जनाएको छ ।

पूर्वाधार तर्फ नगरपालिकाले नगर गौरवको आयोजनाको रूपमा टिक्कर-बुड्ढी-बिजगौरी सडकको पहिलो खण्ड कालोपत्रे र सडक स्तरोउन्नति सम्पन्न भएको छ । बुड्ढी तालको सौन्दर्यीकरण एवं थारू संग्रहालय निर्माणको काम सुरू भएको छ भने ५ शैय्याको अस्पताल निर्माणको काम सुरू भएको नगरपालिकाले जनाएको छ ।

मानपुर स्वास्थ्य चौकी, धनकौली स्वास्थ्य चौकी निर्माणका कार्यहरू पनि गएको आवमै सुरु भएका छन् ।

आव ०७८/०७९ मा निर्माण व्यवसायी मार्फत सञ्चालित कुल ३५ योजना मध्ये २२ वटा पूर्ण रूपमा सम्पन्न भएका छन् भने १० वटा आंशिक सम्पन्न भएको, ९ वटा अर्को वर्षलाई म्याद थप गरिएको र २ वटा योजना सुरु नै भएनन् । उपभोक्ता समिति मार्फत कुल ४९९ वटा योजनाहरू सञ्चालन भएका छन् । सुरक्षित नागरिक आवास अन्तर्गत २९९ वटा सुरक्षित आवास निर्माण सम्पन्न भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुल १२ वटा योजनाहरू सञ्चालन भई १ सय २० जनाले औषत ५५ दिनको रोजगारी पाएका छन् ।

स्वास्थ्य तथा आर्यूवेद तर्फ कोभिड माहामारी रोकथाम तथा नियन्त्रणमा बुद्धभूमि नगरपालिकाको गौतम बुद्ध क्याम्पसमा आसोलेशन संचालन मिलाइएको, माहामारी नियन्त्रण गर्न एन्टिजेन/प.सी.आर. १ हजार ८१० जनालाई जाँच गर्दा ४६० जना पोजेटिभ केश भेटिएका थिए ।

कोभिड विरुद्धको खोप अन्तर्गत बुद्धभूमि नगरपालिका अन्तर्गत १२ वर्ष भन्दा माथिका सम्पूर्ण नागरिकहरूलाई कोभिड-१९ विरुद्धको खोप ५२ हजार ६४० जनालाई लगाइएको छ ।

टाइफाइड विरुद्धको खोप अन्तगर्त बुद्धभूमि नगरपालिका अन्तर्गतका १५ महिना देखि १५ बर्ष सम्मका बालबालिकाहरूलाई गरी १९ हजार ८ सय बालबालिकाहरूलाई खोप सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

हैजा विरुद्धको खोप अन्तर्गत यस नगरपालिका अन्तर्गतका १ बर्ष भन्दा माथिका सबै व्यक्तिहरूलाई पहिलो मात्रा ५१ ह्जार ९२८ र दोस्रो मात्रा ४१ ह्जार २४० जनालाईे खोप सेवा प्रदान गरिएको छ ।

एक बर्ष भरि पाठेघर शिविरबाट ५ सय १७, इम्पान्ट शिविरबाट १ सय १० जनालाई सेवा दिइएको छ ।

रक्तदान शिविरबाट ६ सय पिन्ट रगत संकलन भएको, आँखा शिविरबाट भृकुटी मा.बि. बुड्ढीमा आँखा जाँच तथा मोती बिन्दुको अप्रेसन ८६ जनाको गरिएको छ ।

वडा नं. ३ घन्चौरामा शहरी स्वास्थ्य क्लिनिक स्थापना भई सञ्चालनमा रहेको, नगर क्षेत्रभित्र इमिलियामा आयुर्वेद औषधालयको स्थापना तथा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना एवं सञ्चालन भएको नगरले जनाएको छ ।

शिक्षाको शशर्त तर्फ नगरपालिकालाई प्राप्त आइसिटी कार्यक्रम २ विद्यालयमा (धनकौली मा.वि. र श्री मा वि निमडाँडा) र राष्ट्रपति शैक्षिक सुधार तर्फ १ गरी ३ विद्यालयमा आइसिटी कार्यक्रम सम्पन्न गरिएको छ ।

एघार माध्यमिक विद्यालयमा सरकारी मापदण्डको रङ्गरोगन कार्यक्रम सम्पन्न भएको छ । बत्तिस विद्यालय र एक स्रोत केन्द्र गरी ३३ शैक्षिक संस्थाहरुलाई कम्प्युटर र प्रिन्टर वितरण गरी नगरपालिका अन्तरगतका विद्यालयलाई कम्प्युटर विहिन हुनबाट जोगिएका छन् ।

परिवर्तित पाठ्यक्रमको प्रबोधिकरण प्रत्येक विद्यालयका शिक्षकलाई हुने गरी ७० जनालाई प्रशिक्षित गरेको, कम्प्यूटर सम्बन्धि आधारभूत तालिम ४० जना शिक्षक तथा विद्यालय कर्मचारीलाई प्रदान गरिएको छ ।

३४ विद्यालयमा भौतिक निर्माणका कार्यक्रम सम्पन्न भएको, वडा नं १ विरपुरमा सभाहल निर्माण सम्पन्न, वडा नं २ मा कबडहल समेत भएको बहुउद्देशीय सभाहल निर्माण, मेयर कप प्रतियोगिता तथा वडास्तरमा खेलकुद प्रतियोगिता एवं खेल सामग्री वितरण कार्य सम्पन्न भएको छ ।

कृषि विकास तर्फ साना कृषियन्त्रण वितरण मिनिटिलर ६५ जनालाई, उत्कृष्ट कृषक पुरस्कार १० जनालाई, विउ विजन विक्रता तालिम २७ जनलाई, साना कृषि यन्त्र सञ्चालत तथा मर्मत तालिम ५० जनालाई, २६ टन उन्नत गहुँको वीउ वितरण, १० टन उन्नत धानको बिउ वितरण गरिएको नगरको कृषि शाखाले जनाएको छ ।

पशु सेवा विकास तर्फ इलेक्ट्रिक च्यापकटर वितरण १९ जनालाई, बर्षे र हिउँदे घासँको विउ वितरण सबै वडामा, पशु भ्याक्सिनेशन कार्यक्रम सवै वडामा सम्पन्न, बाह्रौ महिना पशुहरूको औषधी उपचार गरिएको नगरको पशु सेवा शाखाले जनाएको छ ।

सुशासन र सेवा प्रवाहमा पनि बुद्धभूमिले प्रगति गरेको देखिएको छ । नियमानकारी निकाय अ.दु.अ.आ.बाट सघन अनुगमन/अनुसन्धान भई रचनात्मक सुझाव मात्र प्राप्त भएको, हालसम्म कुनै प्रकारको अनियमितता पुष्टी नभएको नगरले जनाएको छ ।

सेवा प्रवाह, भुक्तानी प्रणाली छिटो सजिलो र सरल बनाई सेवाग्राही मैत्री बनाइएको छ । सूचना प्रविधिलाई शासन सञ्चालनको आधार स्तम्भको रूपमा स्थापित गरिएको, घुम्ती सेवा, शिविर, मोबाइल सर्भिस मार्फत घर दैलोमा सेवा प्रवाह गरेको, शासन सञ्चालनमा सरोकारवालाहरूको सहभागिताको सुनिश्चितता गरिएको, यसको लागि कार्यालयमा सुझाव पेटिका, सामाजिक सञ्जालमा सुझाव संकलन आदि गरिएको नगरपालिकाले जनाएको छ ।

१० जना कर्मचारीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ भने स्वीकृत दरबन्दी बमोजिम नगर प्रहरी भर्ना प्रकृया पुरा गरि काम गरिरहेका छन् ।

गएको बैशाख २० गते सम्पन्न निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तवरले भएको, संघीय सरकार र प्रदेश सरकारसँग सौहार्दपूर्ण सम्बन्ध स्थापित भई कार्यगत सहकार्य भएको, नगर क्षेत्र भित्रका विकास साझेदारसँग समन्वय गरी एकीकृत, समावेशी र सन्तुलित विकासको थालनी गरिएको नगरपालिकाले आफ्नो प्रगित विवरणमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ९ : ०८ बजे