१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

आजदेखि तीनदिनसम्म वर्षा हुने पूर्वानुमान



काठमाडौं ।
आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो ।

मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौंमा पनि आज दिनभरजसो वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन् ।

काठमाडौं उपत्यकामा आज छिटपुट वर्षा हुने सम्भावना रहेको मौसमविद्‍ले जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

महाशाखाकाअनुसार आज राति पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यस्तै भोलि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

बिहिबार लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।

यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ६ : ५० बजे