५ माघ २०८१, शनिबार | Sat Jan 18 2025

उपसभामुखको निर्वाचन आज, यस्तो छ अंकगणित



काठमाडौं ।

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।

उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।

गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराईको प्रस्तावकमा एमालेकै सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

प्रतिनिधि सभामा गठबन्धनतर्फ बहुमत भएकाले भुसालको जीत निश्चित जस्तै छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद रिक्त छन् । बाँकी २७१ मा पनि चारजना निलम्बनमा रहेका २६६ जनाले मतदान गर्न पाउँछन् । १३४ मत भए उपसभामुख जित्न पुग्छ ।

गठबन्धनसँग हाल कांग्रेसका ६१, माओवादीका ४९, नेकपा एसका २४ सांसद छन् । जसपाका केही सांसद बाबुरामतिर छन् भने केही तटस्थ रहेका छन् । गठबन्धनमा आबद्ध राजमोको एक सांसद छन् भने नेपाल मजदुर किसान पार्टी र राप्रपाका एक–एकजना सांसद छन् ।

कांग्रेस, माओवादी र नेकपा एसको मत नै सत्ता गठबन्धनलाई जित्न पुग्ने देखिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७९ शुक्रबार ००:००  ७ : ५३ बजे