७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुद्धभूमिको नगर सभाद्धारा आगामी आवको बजेटसहितको कार्यक्रम सर्वसम्मत रुपमा पारित



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको एघारौं नगरसभाले आगामी आव ०७९/०८० को बार्षिक बजेटसहितको योजना तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ ।

बुधबार बसेको चालु नगरसभाको दोस्रो बैठकले उक्त बजेटसहितको कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

बुद्धभूमि नगरपालिकाको पहिलो नगरसभा असार ९ गते बसेको थियो । उक्त नगरसभामा नगर प्रमुख केशवकुमार श्रेष्ठले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो भने, नगर उप-प्रमुख मीरा थारुले आगामी आव ०७९/०८० का लागि करिब रु. १ अर्ब २० करोड बराबरको बजेट सभामा पेश गरेकी थिइन् ।

बजेटमाथि विभिन्न छलफल पश्चात बुधबार नगरसभाले पास गरेको हो ।

बुद्धभूमिले विशेष गरि बजेटमा गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरूको निर्माणद्धारा समृद्ध ‘बुद्धभूमि र सुखी बुद्धभूमि’ बनाउने लक्ष्यसहितको कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

बुधबारको नगरसभामा चालु आवमा उपभोक्ता समितिबाट उत्कृष्ट काम गर्ने समितिका अध्यक्ष बुद्धभूमि ८ का नारायण प्रसाद खनाल, उत्कृष्ट काम गर्ने निर्माण कम्पनीबाट दर्शन एशियाली जे.भी. भैरहवाका प्रकाश गौतमलाई सम्मान गरिएको छ ।

यस्तै स्वर्गीय पत्रकार नन्दराम पौडेललाई मरोणपरान्त पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ भने, दीर्घ सेवा पदकका रुपमा नगरका प्रशासकीय प्रमुख राजन पोख्रेललाई सम्मान गरिएको छ ।

यस्तै लामो समय स्वास्थ्य सेवामा कार्यरत जनस्वास्थ्य अधिकृत खुबिराम खनाललाई पनि सम्मान गरिएको थियो ।

नगरसभामा नगर प्रमुख श्रेष्ठले उठेका जिज्ञासाको सम्बोधन गरेका थिए । नगर प्रमुख श्रेष्ठले नगरले लिएका बार्षिक कार्यक्रमलाई सफल पार्न सबैको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : २९ असार २०७९ बुधबार ००:००  ८ : ५८ बजे