९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रिय वाणिज्य बैंक बाणगंगामा ग्राहकलाई सजाय !



मायादेवी अनलाइन, बाणगंगा ।
असार मसान्त सकिनै लाग्दा राष्ट्रिय वाणिज्य वैंक बाणगंगा चारनम्बर शाखामा ग्राहकले सास्ती खेप्नुपरेको छ । बैंकमा ग्राहकको भिडभाड अधिक भएपछि ग्राहकले सास्ती खेपेका हुन् । प्राय भीडभाड भइरहने राष्ट्रिय वाणिज्य बैंक असार मसान्तले गर्दा ग्राहकको अधिक भीड हुने गरेको छ ।

तर बैंकले ग्राहकलाई सुविधा दिनुको साटो सजाय दिने काम गरेको छ । कर्मचारी थपेर ग्राहकलाई छिटो छरितो सेवा दिनुपर्नेमा नगद काउण्टर एकवटा मात्र संचालन गरेर घण्टौं कुराएर सजाय दिने गरेको ग्राहक हरि आचार्यले बताए ।

‘गर्मीको समय छ, लाइनमा बस्दावस्दै घण्टौं बित्छ, त्यसैमा एसीले काम गर्दैन, यो के हो सजाय नभएर ? उनले प्रश्न गरे ।’

सोमबार मात्रै एकजना ग्राहक बैंकमा लाइनमा बस्दाबस्दै चक्कर आएर ढलेको आचार्यले सुनाए । भीडभाडले गर्दा बैंकको भौचर भर्न नसकेर समेत धेरै ग्राहक फर्किने गरेका थिए ।

उता विहानै ९ बजेदेखि नै ग्राहक बैंकको भुइतलामा लाइन लागेर बसेका हुन्छन् । बैंक खुल्ने एक घण्टा अगावै ग्राहकको लामै लाइन लाग्ने गरेको छ । कतिवेला बैंक खुल्ने हो भनेर बसेका ग्राहक १० बज्दा समेत वैंकको गेट नखुलेपछि थप समस्या परेको स्थानीय दिपक गैरेले बताए । उनका अनुसार बैंकमा राखिएको घडी नै ढिलो भएका कारण यस्तो भएको बताए ।

बाणगंगा ९ भर्तापुरकी कमला विकले पनि बैंकमा धेरै कष्ट पाएको बताइन् । ३ दिनदेखि बैंकमा चेक साट्न बैंक आउदा भीडभाड भएर फर्किदै जादै गरेको बताइन् ।

अर्घाखाँचीका एक शिक्षक एक सातादेखि वाणिज्य वैंक धाउनु परेको बताएका छन् । शितगंगा १४ सिमलपानीमा कार्यरत शिक्षक कविराम विसी एकसातादेखि बैंक धाएका छन् । साता दिनसम्म बैंक धाउदा पनि काम नभएको विसीले बताए ।

राष्ट्रिय वाणिज्य बैंकमा ५ जना कर्मचारी कार्यरत छन् । कर्मचारीको अभाव र कहिलेकाही कर्मचारी बिदा बस्दा समस्या हुने गरेको बैंकले बताउने गरेको छ । बैंकको काम लिएर आएका ग्राहकहरु भरिभराउ भए पछि बाहिरी भाग र सिडि हुँदै भुई तलामा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

उता गर्मीले हैरानी खेपेका नागरिकहरु बैंकको सेवा सुविधा, कर्मचारीको अभाव र ढिलासुस्तीले ग्राहकलाई सजाय दिए जस्तो भएको अनिष बन्जाडेले बताए ।

प्रकाशित मिति : २९ असार २०७९ बुधबार ००:००  ८ : ०५ बजे