मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको पचेहरा–बर्रोहिया सडकखण्ड भत्किन थालेको छ । जितपुर–तौलिहवा सडकखण्ड अन्तर्गत पचेहराबाट सिधा लुम्बिनी सडकखण्डमा जोडिने पचेहरा–बर्रोहिया सडकखण्ड यस क्षेत्रको महत्वपूर्ण सडकमा पर्छ ।
दुई लेनको यो सडकखण्ड निर्माणको काम सकिएको दुई बर्ष पुरा भएको छ । ९ किलोमिटरको दुरीमा रहेको यो सडकका बीच बीचमा ठूला ठूला खाडल परेको छ भने, ठाउँ ठाउँमा सडक भासिएको छ ।
प्रतिनिधिसभा सदस्य अतहर कमाल मुसलमानको पहलमा यो सडक निर्माण भएको हो । केन्द्र सरकारले बनाएको यो सडकखण्ड हाल लुम्बिनी प्रदेश सरकारले हेर्ने जिम्मेवारी पाएको छ ।
प्रदेश सरकारले सडक ममर्तमा कुनै चासो नदेखाउँदा यो सडकखण्ड जिर्ण बन्दै गएको हो ।
यसै क्षेत्रका प्रदेश सांसद सहसराम यादव प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन् । उनी यहीँ बाटो हुँदै ओहोरदोहोर गछर्न्, तर भत्किएको सडक देख्न सकेका छैनन् ।
‘मन्त्री यादवको क्षेत्रमा पर्ने सडकको यस्तो हालत छ, फुलिकाका एक जना स्थानीय नेताले भने, ‘भासिएको सडक नदेख्ने मन्त्रीबाट खै के आशा गर्नू ।’
सडक बने देखि मालबाहक सवारी चलेको कारण सडक भासिन पुगेको हो । तौलिहवा–लुम्बिनी सडक निर्माणधिन रहेको र जितपुर चारनम्बर हुँदै लुम्बिनी, भैरहवासम्म जाने मालबाहक सवारीले यो सडक प्रयोग गर्दा सडकको अवस्था जिर्ण भएको स्थानीय बताउँछन् ।
भैरहवा क्षेत्रमा ठूला ठूला सिमेन्ट उद्योग छन् । यहीँ बाटो हुँदै ती मालबहाक टिप्परले यो सडक प्रयोग गर्दा सडकको अवस्था दयनिय भएको हो ।
प्रतिनिधिसभा सदस्य कमालले सडक मर्मतमा प्रदेश सरकार चनाखो भएको लाग्नुपर्नेमा जोड दिए ।
‘यो सडक निकै आवश्यकताको सडक हो । मेरै सक्रियताले सडक बनेको हो । अहिले यो सडक हेर्ने जिम्मेवारी प्रदेश मातहतमा आएको रहेछ, सांसद कमालले भने, ‘सडक भासिदै गएको छ, प्रदेश सरकारले तत्काल मर्मत गर्नुपर्छ ।’
प्रतिक्रिया