काठमाडौं ।
प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताउनुभएको छ ।
सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको हिजो समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनकै क्रममा प्रधान सेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भए तापनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छनीय गतिविधिको निगरानी तथा नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो ।
सीमा क्षेत्रमा सम्बद्ध सबै सरकारी निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अपरिहार्य रहेको समेत प्रधानसेनापति शर्माको भनाइ छ । कार्यक्रममा रक्षा सचिव किरणराज शर्माले आउँदा दिनहरुमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीति अन्तर्गत आवश्यक कदमहरु अघि सारेको जानकारी दिनुभयो ।
सेमिनारमा, नेपाली सेनाका रथिहरु, विभिन्न मन्त्रालयका सह–सचिवहरु, सीमाविद् तथा अन्तर्राष्ट्रिय कानुनका अध्ययनकर्ता, नापी विभागका उप–महानिर्देशक, राष्ट्रिय सुरक्षा परिषद्का सहायक संयोजक, नेपाल प्रहरीका नायब महानिरीक्षक, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया