२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने एमालेको तयारी



काठमाण्डौ ।

अर्थमन्त्री जनार्दन शर्माले आफूबारे लागेको आरोपबारे आजको प्रतिनिधि सभा बैठकमा बोल्ने तयारी गर्नु भएको छ ।

उहाँले सभामुख अग्निप्रसाद सापकोटासँग बोल्नको लागि समय माग्ने तयारी गर्नुभएको छ । तर, प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद्को रोष्ट्रममा अर्थमन्त्री शर्मालाई बोल्न नदिने बताएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणका क्रममा विचौलिया र व्यापारीका प्रतिनिधि राखेर करका दर लगायतका विषय हेरफेर गर्ने अर्थमन्त्री शर्मालाई संसद्को रोष्ट्रम प्रयोग गर्न नदिने बताउनुभयो ।

बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म बस्न सकेको छैन । अर्थमन्त्री शर्मामाथि बजेटमा करका दर हेरफेर गर्ने क्रममा जेठ १४ गते अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेको छ । अर्थमन्त्रालयले त्यतिबेलाको सीसीटीभी फुटेज समेत डिलिट भएको सूचना दिएपछि विवाद झन् बढेको छ ।

प्रकाशित मिति : २२ असार २०७९ बुधबार ००:००  १२ : ५१ बजे