७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

बुद्धभूमिको प्रशासनीक काममा आमुल परिवर्तन



मायादेवी अनलाइन, बाणगंगा ।
‘सरकारी काम, कहिले जाला घाम’ भन्ने आम जनताको बुझाईलाई कपिलवस्तुको एक स्थानीय तहले चिर्न सफल भएको छ ।

देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपनि सरकारी कामको झन्झटिलो प्रकृयाले आम जनताले परिवर्तनको महसुस गर्न नसकिरहेका बेला जिल्लाको बुद्धभूमि नगरपालिकाले भने प्रशासनीक काममा आमुल परिवर्तन गरेको पाइएको छ ।

चालु आर्थिक बर्षको अन्त्यमा आइपुग्दा उपभोक्ताहरु काम सम्पन्न भएपछि भुक्तानीका लागि नगरपालिका पुगिरहेका छन् ।

भुक्तानीका लागि आवश्यक कागजात पूरा नभएको बाहनामा उपभोक्तालाई दुःख दिने सरकारी परिपाटी जस्तै भएपनि बुद्धभूमि नगरपालिकाले त्यसलाई चिर्न सफल भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज सुवेदीले आम सर्वसाधारणको काम नगरबाट तत्काल हुने गरि सेवा प्रदान गरिरहेको बताउँछन् । आवश्यक कागजात पुगेको काम तत्कालै हुने र कागजात अपुग भए प्रष्टसंग बताएर पुनः ल्याउन भनिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । नगरबाट हुने भुक्तानी लगायतको काम तत्काल भइरहेको भन्दै यसमा सबै कर्मचारीको साथले सम्भव भएको उनको भनाई छ ।

नगरपालिकाको काममा सुवेदी रातीसम्म खटिने गरेका छन् । मंगलबार साँझ साढे ६ बजे मायादेवी अनलाइनको टिम कार्यालय पुग्दासम्म सुवेदीले सेवाग्राहीलाई सेवा दिइरहेका थिए । मंगलबार मात्र होइन् अघिपछि पनि सुवेदी यसै गरि काममा खटिदै आएका छन् ।

कार्यालय प्रमुख नै यसरी कामका खटिदा अरु कर्मचारी पनि बुद्धभूमिमा कामकाजी भएका छन् ।

‘परिर्वतन ठूलाबाट नै हुनुपर्छ भन्ने आम बुझाईलाई बुद्धभूमिका हाकिमले थप पुष्टि गरेका छन्, ‘एक सेवाग्राहीले मायादेवीसंग भने ।’

कार्यालय प्रमुख सुवेदी मात्र होइनन् नगरका लेखा प्रमुख रेनुराम ज्ञवाली पनि यसै गरि काममा खटिन्छन् । लेखाबाट पाउनुपर्ने भुक्तानी आम उपभोक्ताका लागि सबैभन्दा ठूलो झन्झटिलो प्रक्रिया हो । आवश्यक कागजातको अभाव, अनावश्यक शंका र परिवेश अनुसारको कर्मचारीको व्यवहारले अधिकांश पालिकाका लेखा शाखा उपभोक्ताका लागि दुख दिने अड्डा बनेका छन् ।

तर, बुद्धभूमिका लेखा प्रमुख ज्ञवालीले शाखामा पुगेको फाइल हेरेर तत्कालै भुक्तानी दिइरहेका छन् । उपभोक्ताले सम्पन्न गरेका कामको फाइनल डकुमेन्ट सम्बन्धित शाखाबाट भेरिफाई भएर आएको ५ मिनेटमै ज्ञवालीले भुक्तानी दिने गरेका छन् ।

मिजाशिला ज्ञवाली बुद्धभूमिका लागि मात्र होइन्, एक कुशल प्रशासनीक क्षमता भएका राष्ट्रसेवक कर्मचारी ठहरिएका छन् ।

‘जनतालाई परिवर्तनको प्रत्याभूति दिन सके मात्र शासन प्रणाली फेरिएको मुहसुस जनतालाई हुने हो,’ ‘ज्ञवाली भन्छन्, ‘अनाहकका सर्वसाधारणलाई दुःख दिने काम राम्रो होइन्, प्रष्टसंग बुझाएर काम गर्न चाहे नबुझ्ने मानिस सायद दुनियाँमा कोहीँ छैन् ।’

बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ पनि कार्यालयबाट नगरबासीले पाइरहेको सेवा प्रति सन्तुष्ट छन् ।

नगर प्रमुख श्रेष्ठले मायादेवीसंग भने, ‘विगतको भन्दा अहिलेको सेवा प्रवाहमा हामीले आमुल परिवर्तन गरेका छौं । आम सर्वसाधारणलाई यसको प्रत्यक्ष अनुभूति भएको मैले पनि सुनेको छु । कार्यालय प्रमुख, लेखा प्रमुख र अन्य कर्मचारीको सक्रियताले नै यो सम्भव भएको हो ।’

दोस्रो कार्यकालका लागि बुद्धभूमिको नगर प्रमुखमा निर्वाचित भएका श्रेष्ठले अबको ५ बर्षमा धेरै काम गर्ने योजना बनाएका छन् । पहिलो कार्यकालका पनि जिल्लाकै उत्कृष्ट मेयरका रुपमा चिनिएका श्रेष्ठ समयको महत्व बुझ्ने व्यवस्थित जनप्रतिनिधि हुन् । हरेक बिषयमा ज्ञान, योजनाबद्ध कामको रुपरेखा, समयको पालक, सुशासन, पारदर्शिता जस्ता विषयमा नगर प्रमुख श्रेष्ठ अब्बल छन् ।

नगर प्रमुखको अनावश्यक हस्तक्षेप नहुदा पनि बुद्धभूमिको कर्मचारी तह काममा परिणाम आउने गरि खटिएको हो भन्न सकिने सरोकारवालाको बुझाई छ ।

र, यो पनि… प्रविधिमैत्री बन्दै बुद्धभूमि नगरपालिका, सरल र सहज सेवा पाइने अपेक्षा

प्रकाशित मिति : २२ असार २०७९ बुधबार ००:००  ७ : २८ बजे