काठमाडौं ।
फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ ।
“हामीले भिडियो सहायक रेफ्री (भीएआर) को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आएका छौँ । विशेष गरी अफसाइड लाइनको विषयमा,” फिफा रेफ्री कमिटिका प्रमुख पियरलुइगीले भने, “कहिलेकाँही रिभ्यू जाँच गर्ने समय धेरै लामो भएकोबारेमा हामी सचेत छौँ ।”
फिफाले पछिल्लो सात महिनामा दुई खेल (अरब कप र क्लब विश्वकप) मा यस प्रविधिको प्रयोग गरिएको थियो । यसले भिडियो सहायक रेफ्रीको निर्णयलाई ७० बाट २५ सेकेन्डमा झरेको थियो । अब फिफा विश्वकपमा पूर्ण प्रयोग हुने अनुमान गरिएको छ । फिफा विश्वकप नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म कतारमा हुने छ ।
‘अर्ध–स्वचालित अफसाइड प्रविधि’का लागि रंगशालाका छानामामुनि विभिन्न १२ स्थानमा ‘डेडिकेटेड क्यामरा’ र बलमा ‘चिप्स’ राखिने भएको छ । जसले बललाई ‘ट्रयाक’ गर्ने छ । र, प्रत्येक खेलाडीमा कम्तीमा २९ ‘डाटा पोइन्ट’ राखिनेछ । जसले प्रति सेकेन्ड ५० डाटा पठाउने छ । त्यस्तै बलमा भएको चिम्सले प्रति सेकेण्ड ५०० डाटा पठाउने बताइएको छ । जसका कारण भिडियो सहायक रेफ्रीलाई अफसाइडको निर्णय लिन सहज हुने छ ।
“परीक्षणमा अधिक सफल भएको छ । कतारमा रेफ्री र सहायक रेफ्रीलाई सही निर्णय लिन यसले धरै मद्दत गर्नेमा हामी पूर्ण विश्वस्त छौँ,” पियरलुइगीले भने, “केहीले यसलाई रोबर्ट अफसाइड पनि भनेका छन् । तर, त्यस्तो होइन । अझै पनि रेफ्री र सहायक रेफ्री उक्त निर्णयमा जिम्मेबार हुनेछन् ।”
प्रतिक्रिया