२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

सडक किनारामा पार्किङ गर्न रोक लगाएपछि लमहीका अटो व्यवसायी आन्दोलित



दाङ ।

लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्।

विगत दुई दिनदेखि अटो रिक्सा लमही नगरपालिकाको प्रांगणमा पार्किङ गरिएको छ।

अटो पार्किङलाई व्यवस्थित गर्ने नाममा नगरपालिकाले रोजीरोटी खोस्न थालेको भन्दै आफूहरू आन्दोलित हुनुपरेको अटो व्यवसायी रमेशप्रसाद सुवेदीले बताए।

उनले भने, ‘सबै अटोलाई बसपार्कमा थन्क्याउन पाइँदैन। बजारका चोक(चोकमा व्यवस्थित गरेर अटो राख्छौँ। हामी सुन्दर लमहीको पक्षमा छौँ। बजार व्यवस्थित गर्ने नाममा हामीलाई विस्थापित गर्न पाइएन।’

करिब एक सय वटा अटो रिक्सा नगरपालिकाभित्र पार्किङ गरेर आन्दोलन गरिएको हो। यता, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले नयाँ माग थप्दै आन्दोलन गरिरहेको आरोप लगाए।

‘बसापर्कको एक किनारमा पार्किङ गर्ने सहमति भयो। राजीखुसी बिदा हुनुभयो। फेरि नयाँ माग राखेर आउनु भएको छ’, नगर प्रमुख चौधरीले भने, ‘कोइलावास चोकमा पार्किङ गर्ने भनेर नयाँ माग थपेर आउनु भएको छ। सहमति गर्दै जाने नयाँ माग थप्दै जाने यसरी त बजार व्यवस्थित हुँदैन।’

प्रकाशित मिति : १६ असार २०७९ बिहिबार ००:००  ३ : ३३ बजे