मायादेवी अनलाइन, बाणगंगा ।
सामाजिक कार्यमा क्रियाशिल संस्था रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले गुरुकुलमलाई चार थान कम्प्युटरसहितका सामग्री प्रदान गरेको छ ।
कपिलवस्तुको वाणगंगा २ नन्दनगरमा अवस्थित मनकामना संस्कृत गुरुकुलमलाई ४ थान कम्प्युटर, प्रिन्टर तथा टेबल प्रदान गरेको हो ।
२ लाख ४३ हजार लागतमा गुरुकुलमलाई उक्त सामग्री वितरण गरिएको रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका अध्यक्ष माधव भाट क्षेत्रीले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्र अर्यालले हिजोको शिक्षाले मात्र संस्कृतिको विकास नहुने भन्दै अबको शिक्षालाई प्रविधिसंग जोड्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय हराउदै गएको नैतिक शिक्षा, धर्म, संस्कृतिलाई धर्म शिक्षाले प्रर्वद्धन गर्ने काम गरेको भन्दै प्रविधिको प्रयोगले आफुलाई परिस्कृत गर्दै हरेक विधामा उत्कृष्ट बनाउन कम्प्युटर तथा प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ ।
नगर प्रमुखले प्रदेशकै पहिलो शास्त्री अध्ययन गराउने गुरुकुलम नन्दनगरको संस्कृत विद्यापिठ भएकाले यसको संरक्षण र संबद्र्धनका लागि नगरपालिकाले पनि प्रत्येक वर्ष लगानी गर्दै आएको बताउनुभयो ।
नगरको सहयोगले मात्र गुरुकुलम संचालन नभएको भन्दै अर्यालले रोटरी क्लव अफ मिड टाउन जस्ता विभिन्न सहयोगी संघ संस्था, दानवीर लगायतको सहयोगबाटनै गुरुकुलम संचालन भएको बताउनुभयो ।
अहिले नगरमा दुई वटा गुरुकुलम संचालनमा आएको भन्दै यसले यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटक बढाएको नगर प्रमुख अर्यालको दाबी छ । यसको सिको गर्दै अन्य ठाउँमा पनि गुरुकुलम खुल्नेक्रम जारी रहेको उहाँले बताउनुभयो ।
गुरुकुलमलाई यहाँसम्म पुर्याउन यहाँका स्थानीयको महत्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा संरक्षण गर्ने जिम्मा पनि स्थानीयकै हुने अर्यालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै मनकामना संस्कृत विद्यापीठ गुरुकुलम् ब्यवस्थापन समितिका अध्यक्ष दयाराम पौडेलले यस गुरुकुलममा ५ वटा प्रदेशका विद्यार्थी अध्ययनका लागि आएको भन्दै यसको संरक्षण र विकासका लागि सहयोग गर्न विभिन्न निकायलाई आग्रह गर्नुभयो ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले क्लवले प्रदान गरेका सामग्रीको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले यी सामग्री उपयोग नगरी जालो लगाएर राखेमा आगामी दिनमा क्लवले सहयोग गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउन अध्यक्ष माधव भाट क्षेत्रीले क्लवले गतवर्ष खेलकुद सामग्री प्रदान गरेको भन्दै त्यसैको निरन्तरता स्वरुप यस वर्ष ब्राण्डेड कम्प्युटर सेट प्रदान गरेको बताउनुभयो । यसका साथै गुरुकुलमलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।
आफुहरुले मानवीय सेवाको भावनाले निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको भन्दै अन्य विभिन्न क्षेत्र तथा समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।
सामग्री प्रदान गर्नु मात्र ठूलो कुरा नभएकाले यसको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । प्रविधिसंग सम्बन्धित दक्ष जनशक्ति आवश्यक परेमा पनि आफुहरुले उपलब्ध गराउन सक्ने अध्यक्ष क्षत्रीले बताउनुभयो ।
कार्यक्रममा रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट मोहन प्रसाद बेल्वासे, ज्योतिष खेमराज पौडेल लगायतले बोल्नुभएको थियो । रोटरीका पूर्वअध्यक्ष नरेस पौडेलले स्वागत मन्तब्व्य राख्नुभएको कार्यक्रमको संचालन पूर्व अध्यक्ष बासुदेव घिमिरेले गर्नुभएको थियो ।
प्रतिक्रिया