९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देवदहमा बन्यो ‘जनपक्षीय संयुक्त संयन्त्र’, स्थानीय तहमा हुने गलत कार्यको खबरदारी हुने



देवदह ।
रुपन्देहीको देवदहमा ‘जनपक्षीय संयुक्त संयन्त्र देवदह’ गठन गरिएको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि निर्वाचित भएसंगै स्थानीय सरकारले गर्ने सकारात्मक कार्यको प्रचारप्रसार र गलत कार्यको खबरदारीका लागि संयन्त्र निर्माण गरिएको हो ।

संयन्त्र गठन पश्चात पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीय सरकारको नीति तथा कार्यक्रम कस्तो बनाउने, जनप्रतिनिधि तथा कर्मचारीले गर्ने कार्य कसरी पारदर्शी र चुस्त दुरुस्त बनाउने र समग्रमा देवदहलाई कसरि समृद्ध बनाउने भन्ने उदेश्यले नै संयन्त्र बनाइएको नेकपा (एकीकृत समाजवादी) का देवदह नगर अध्यक्ष टंक पोखरेलले जानकारी दिनुभयो।

जनपक्षीय संयुक्त संयन्त्रले विभिन्न २९ बुँदे सुझाव पत्र समेत बिज्ञप्तिमा उल्लेख गरेको छ । जस अन्तर्गत स्वास्थ्य बीमा प्रभावकारी नभएको यसलाई यथासिघ्र सच्याएर लैजानुपर्ने, कृषि पकेट क्षेत्र घोषणामा मात्रै सिमित भएकोले कार्यान्वयनमा समेत लैजानुपर्ने, दिगो विकास भनिए पनि विकास निर्माणका काम अल्पकालीन भएको देखिएकोले तत्काल सुधार गरेर लैजानुपर्ने, नदीजन्य पदार्थको उत्खनन र वितरण प्रणाली बैज्ञानिक हुनुपर्ने र विधि सर्व स्विकार्य र पारदर्शी हुनुपर्ने राज्यले टोकेको मापदण्ड अनुरुप बजेट शिर्षकमा रकम विनियोजन अनिवार्य हुनुपर्ने, भूमि व्यवस्थापनको कार्य तीब्र गतिमा अघि बढाउनुपर्ने कार्यपालिकाले गरेको निर्णय सोही दिन प्रमाणीत गरि सार्वजनिक गर्नुपर्ने देवदह मापदण्डको उचित तथा बैज्ञानिक ढंगले व्यवस्थापन हुनुपर्ने लगायत २९ बुँदे सुझाव उल्लेख गरिएको छ ।

संयन्त्रको तर्फबाट जारी गरिएको बिज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष गोबिन्द ठडराई, नेकपा (एकीकृत समाजवादी) का देवदह नगर अध्यक्ष टंक पोखरेल, राष्ट्रिय जनमुक्ति पार्टीका देवदह नगर अध्यक्ष डम्बर बहादुर थापा, राष्ट्रिय जनमोर्चाका धनु पाण्डे, नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट ऋषिराम लामिछाने, नेकपाबाट राम प्रसाद काफ्ले, जनता समाजवादी पार्टीका तर्फबाट रमेश पाण्डेले हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९ शनिबार ००:००  ४ : ४२ बजे