९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कम्युनिस्ट पार्टीहरूलाई फेरि एकजुट बनाउने अभियानमा लाग्छु : गौतम



काठमाण्डौ ।

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिस्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागि पर्ने बताउनु भएको छ ।

केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना रहेको सुनाउनु भयो ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय सदस्य समेत रहनु भएका सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकृत गर्नका लागि नै आफूले कुनै पनि नेताहरुको बारेमा टिकाटिप्पणी नगरेको दाबी गर्नुभयो ।

उहाँले नेपाललाई एउटा समृद्ध समाजवादमा पुर्याउने आशासहित गठन भएको नेकपा पार्टीभित्रको आन्तरिक समस्याका कारण तीन वटा टुक्रामा विभाजित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केही समयदेखि म नेपालको कुनै पनि पार्टीमा छैन । मेरो विचार कम्युनिस्ट पार्टीहरु फेरि एकजुट हुनुपर्छ भन्ने हो । मैले फेरि पार्टीलाई एकीकृत गर्ने, म फेरि कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने एउटा महाअभियानमा संलग्न हुने विचार गरेको छु । र, केही समयपछि म घोषणा गरेर त्यो काममा लाग्नेछु । सफलता प्राप्त हुन्छ कि हुँदैन ।’

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले नेकपा एकता पछि जनता खुसी भएको तर पार्टी भित्रकै उत्पन्न समस्याहरुले पार्टीलाई विभाजित गरेको बताउनु भयो ।

प्रकाशित मिति : ३ असार २०७९ शुक्रबार ००:००  १ : ४६ बजे