९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमालेले फेरि माग्यो अर्थमन्त्री शर्माको राजीनामा, संसदमा विरोध



काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । लगातार अर्थमन्त्रालय र अर्थमन्त्रीसँग सम्बन्धित कार्यसूचीको विरोध गर्दै आइरहेको एमालेले आज पनि विरोध गर्दै राजीनामा माग गरेको हो ।

एमालेका सांसद भानुभक्त ढकालले विगत ३ दिनदेखि प्रतिनिधि सभाको ध्यानाकर्षण गराइरहेको बताउँदै भने, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेका कारणले राजीनामा दिनुपर्छ ।’

विगतदेखि नै अर्थमन्त्री शर्माको राजीनामा मागिरहँदा त्यसलाई बेवास्ता गरेर फेरी त्यही विषय ल्याइएकामा एमालेले गम्भिर असहमति जनाएको छ । राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गर्दा अदालतले सफाई दिएपछि नै राजीनामा दिनुपर्नेमा त्यसपछि अर्थमन्त्री शर्मा झनै हौसिएको ढकालले बताए ।

‘बिचौलियाहरूलाई करका दरहरू परिवर्तन गर्ने र राष्ट्रलाई आघात पार्ने जुन काम भएको छ । यो पछिल्लो गतिविधिबाट सरकारले अर्थमन्त्रीलाई हटाउन सकेको छैन,’ ढकालले भने, ‘हामीलाई के संका लाग्छ भने अर्थमन्त्रीभन्दा माथि पनि यसका जराले धर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौं ।’ त्यसपछि एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । सभामुखले बजेट राज्य सञ्चालन गर्न आवश्यक भएकाले सहयोग गर्न आग्रह गरेका थिए । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे ।

प्रकाशित मिति : २ असार २०७९ बिहिबार ००:००  १ : ५२ बजे