काठमाण्डौ ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको मुग्लिन–आँबुखैरेनी खण्डमा राति पनि गाडी चल्न थालेका छन् ।
आँबुखैरेनी गाउँपालिका–४ विद्युत् गृह नजिक सडक भासिएपछि गएको शुक्रवार राति ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो ।
रातिको समयमा यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले रातिको समयमा गाडी चलाउन रोक लगाएको थियो । तर हिजो बेलुकादेखि भने सानाठूला र हेभी गाडी समेत चलाउन अनुमति दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ । सडक भासिएको छेउपट्टि मर्मत नहुँदासम्म यो खण्डमा एकतर्फी मात्रै गाडी चल्ने छन् । यस्तै, पानी परे पनि अहिले मुुख्य राजमार्गमा निर्वाध रुपमा गाडी चलिरहेका छन् ।
पानी पर्नेबित्तिकै पहिरोका कारण अवरोध हुने नौबिसे–मुग्लिन र मुग्लिन नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका प्रहरीले जनाएको छ । तर, यी सडक खण्डमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर गाडी चलाउन प्रहरीको आग्रह छ ।
प्रतिक्रिया