७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

रुपन्देहीमा जिल्ला समन्वय समितिको चुनावः एमाले र कांग्रेसको तानातानमा राप्रपा र लोसपा



बुटवल ।
रुपन्देहीका १० पालिकाको नेतृत्व जिते पनि उपप्रमुख जित्न नसक्दा कांग्रेस सहितको गठबन्धनलाई जिल्ला समन्वय समिति (जिसस) मा बहुमत नपुग्ने भएको छ ।

जिल्लामा १६ पालिका छन् । कांग्रेसबाट उपप्रमुखमा ४ जनाले मात्र जितेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले १ गाउँपालिका प्रमुख मात्र जितेको छ । गठबन्धनमा रहेका ५ दलको मत १५ मात्रै हुन्छ । समन्वय समितिको नेतृत्वका लागि १७ मत आवश्यक पर्छ ।

जिल्लामा कांग्रेसको १४ र एमालेको ११ मत छ । नेकपा माओवादी केन्द्रका उम्मेदवारले कञ्चन गाउँपालिकाको उपाध्यक्ष जिते पनि कांग्रेसको चुनाव चिह्न रुख लिएर निर्वाचित भएकाले कानूनी हिसाबले उनी कांग्रेसकै भएका छन् भने नेकपा एकीकृत समाजवादीले कुनै पनि पालिकामा आफ्नो उपस्थिति जनाउन सकेको छैन ।

यसअघि जिल्ला समन्वय समितिको नेतृत्व लिएको नेकपा एमालेले ३ पालिका प्रमुख ८ उपप्रमुख गरेर जम्मा ११ मत बनाएको छ । जिसस नेतृत्व लिन एमालेका लागि ६ मत मनाउन चुनौती छ ।

गठबन्धन र एमाले कसलाई जिससमा पठाउने र आफूले के पाउने भन्नेमा निर्णायक शक्तिको रूपमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी ९जप्रपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छन् ।

लोसपाले १ प्रमुख र २ उपप्रमुख, जनता प्रगतिशीलले १ प्रमुख १ उपप्रमुख तथा राप्रपाले १ उपप्रमुख जितेका छन् । तीनै दलले गठबन्धनलाई भन्दा एमालेलाई साथ दिने सम्भावना भए पनि भागबण्डामा कसले के पाउने त्यसमै निर्भर रहनेछ ।

पालिकाले कार्यपालिका निर्वाचन सकेपछि जिससको निर्वाचन हुनेछ । अहिले पालिकाहरू कार्यपालिका निर्वाचन सम्पन्न गर्दैछन् ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले एमाले नेतृत्वमा जिसस बनाउन विभिन्न पार्टीहरूसँग छलफल अगाडि बढाएको बताए । एमाले र कांग्रेस दुवै लोसपा र राप्रपालाई फकाएर आ–आफ्नो नेतृत्वमा जिसस बनाउने तयारीमा आन्तरिक रूपमा जुटेका छन् ।

कांग्रेसले लोसपा, जसपा र राप्रपासँग पनि छलफललाई आन्तरिक रूपमा गृहकार्य अगाडि बढाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७९ बुधबार ००:००  ५ : २७ बजे