काठमाडौं ।
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको शव काठमाडौं ल्याइने भएको छ । सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए । दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको छ । शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।
शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले रातोपाटीलाई बताए । आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटरमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । तारा एयरका अनुसार विमानमा भारतीय ४ जना, नेपाली १३ जना र जर्मन नागरिक २ जना सवार थिए । बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।
प्रतिक्रिया