७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

८४ वर्ष पुगेका वृद्धवृद्धालाई २५ हजार रुपैयाँ दिने शितगंगा नगरपालिकाको निर्णय



अर्घाखाँची ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ दिने भएको छ ।

शीतगङ्गा नगरपालिकाको प्रथम कार्यपालिकाको बैठकले नगरभित्र रहेका ८४ वर्ष उमेर पुगेका नागरिकको सम्मान स्वरुप २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको मेयर छविलाल पौडेलले बताउनुभयो । उहाँले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताउनु भएको छ ।

प्रथम कार्यपालिकाको बैठकले नगरपालिका भित्र प्रयोग गर्ने गरी २ वटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ । सुत्केरी तथा गर्भवती महिला र विपन्न वर्गका मानिसलाई निस्शुल्क एम्बुलेन्स सञ्चालन हुनेछन् ।

अन्य व्यक्तिको लागि निस्शुल्क प्रयोग गर्निे गरी एम्बुलेन्स खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो । उहाँले नगरपलिका भित्र १२ कक्षासम्मको शिक्षा निस्शुल्क गर्ने समेत बैठकले निर्णय गरेको बताउनुभयो । खनालले ५ वर्षमा नगरपालिकाले प्राप्त गरेका उपलब्धिहरु सहितको कार्य विवरण जनप्रतिनिधहरुमाझ प्रस्तुत गर्नु भएको थियो।

जिविस छदाकै करिब ५ करोड रुपैयाँ बेरुजु नगरमा देखिएको बताउँदै अहिले बेरुजु कम गराउन सबै कर्मचारी तथा जनप्रतिनिधिहरु समेत सजक रहेको बताउनुभयो । सधैँ आन्तरिक आम्दानीको ५ वर्षको अवस्था सार्वजनिक गर्दै खनालले आम्दानीका अन्यबाटो खोजेर नगरको आन्तरिक आम्दानी बढाउने बताउनु भयो ।

टुक्रे योजनाले विकास निमार्णमा प्रगति गर्न नसकिएको बताउँदै आउँदो वर्ष ५ लाख रुपैयाँभन्दा साना योजना निमार्ण नगर्न जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ११ : ५० बजे