तिलोत्तमा ।
सरकारले समायोजन गरी तोकेको भाडादर नपाएको भन्दै लुम्बिनी प्रदेशका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन् । उनीहरूले सरकारले तोकेको भाडादर व्यवहारमा पाउनुपर्ने भन्दै यही जेठ २० गतेदेखि ट्रक‚ घर र ग्यारेजमा थन्क्याई ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिले सहकार्य गर्दै समायोजित भाडादर कार्यान्वयनका लागि शनिबार एक कार्यक्रम गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
एकातर्फ भारतीय ओभरलोडका गाडीहरूका कारण नेपाली यातयात व्यवसायी मारमा परेका छन् भने अर्कोतर्फ उचित भाडादर असुल नहुँदा पेशा नै संकटमा परेको गुनासो व्यवसायीको छ । आन्दोलनका कार्यक्रमसँगै व्यवसायी संस्थाले लोडिङ कार्डलाई व्यवस्थित र पारदर्शी बनाउने, विभिन्न ट्रक समितिहरूको प्रतिनिधित्वमा अनुगमन गर्ने र सरकारले तोकेको भाडा प्राप्तिका लागि ट्रान्सपोर्ट व्यवसायीसँग पनि सहकार्य गर्ने निर्णय गरी अघि बढेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।
उनले ट्रक व्यवसायीको पेशा रेड जोनमा पुगेकाले बाध्य भएर व्यावसायीलाई बचाउनका लागि आन्दोलनमा जानु परेको बताए ।
राप्ती ट्रक व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाले भाडादर कार्यान्वयन नहुँदा ट्रक व्यवसाय धराशायी हुने अवस्थामा पुगेको जनाए । उनले ढुवानी व्यवसायीहरूले सहयोग गरेमा सरकारले तय गरेको भाडा असुलीमा सहयोग हुने धारणा राखे ।
प्रतिक्रिया