८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमाले रुपन्देहीले आफ्नो बलियो क्षेत्र गुमायो, कांग्रेस जुर्रमुरायो



बुटवल ।
०७४ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेले रुपन्देहीका १६ पालिकामध्ये ७ वटामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । त्यसबेला जितेका सबै पालिकामा एमालेले यसपटक प्रमुख पद गुमाएको छ ।

तिलोत्तमा नगरपालिकाको मतगणना सकिएसँगै रुपन्देहीका १६ वटै पालिकाको नतिजा आएको छ । तिलोत्तमामा कांग्रेसका रामकृष्ण खाण मेयरमा र एमालेकी जागेश्वरी देवी चौधरी उपमेयरमा निर्वाचित भए । प्रमुख पद गुमाए पनि तिलोत्तमासँगै एमालेले रुपन्देहीका सबै नगरपालिकामा उपप्रमुख पद भने जितेको छ ।

बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना नगरपालिकामा एमालेले यसअघि जितेको प्रमुख पद गुमायो । तर, उपप्रमुख पद कायम राखेको छ ।

अघिल्लो पटक देवदह नगरपालिकामा उपप्रमुख पद जितेको एमाले यसपटक प्रमुख र उपप्रमुख दुवै पदमा विजयी भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाको उपप्रमुखमा एमाले पहिलो पटक विजयी भएको छ ।

शुद्धोधन गाउँपालिकामा पनि उसले अघिल्लो पटक जितेको अध्यक्ष पद गुमाएर उपाध्यक्ष पद कायम राखेको छ । कञ्चन र सियारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै गुमाएको छ।

अघिल्लो पटक जितेको सबै ७ वटै पालिकाको नेतृत्वमा पराजित भए पनि एमालेले नयाँ पालिकामा प्रमुख पद पाएको छ । जिल्लाको देवदह नगरपालिकामा अघिल्लो पटक उपमेयर जितेको एमाले मेयरमा हारेको थियो । तर यसपटक मेयर र उपमेयर दुवै पदमा विजयी भएको छ ।

यसअघिको नतिजाका आधारमा कमजोर मानिएको ठाउँमा यसपटक एमाले बलियो देखिएको छ । गैडहवा गाउँपालिकामा अघिल्लो चुनावमा एमाले तेस्रो स्थानमा थियो । तर यसपटक अध्यक्ष र उपाध्यक्ष दुवै पद सो पार्टीले जितेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर नजिते पनि एमालेले उपमेयर हात परेको छ । अघिल्लो पटक एमालेका मेयर उम्मेदवार नै थिएनन् भने उपमेयरमा पाँचौ स्थानमा थियो । पाँच वर्षअघि कुनै पनि वडा नजितेका एमालेले अहिले लुम्बिनी सांस्कृतिकमा ५ वटा वडा जितेको छ ।

ओमसतियो गाउँपालिकामा अघिल्लो पटक एमाले पाँचौँ स्थानमा थियो । तर यसपटक अध्यक्ष जितेको छ । तर यहाँ उपप्रमुख तथा कुनै पनि वडामा एमाले विजयी हुन सकेन ।

रुपन्देही जिल्ला भरमा अघिल्लो पटक ६७ वटा वडा जितेको एमाले यो चुनावमा घटेर ४५ वडामा खुम्चिएको छ ।

कांग्रेसको प्रभाव विस्तार
रुपन्देहीमा ५ वर्षअघिको चुनावमा कांग्रेसले दुई वटा पालिका प्रमुख र दुई वटा उपप्रमुख जितेको थियो । तर यो चुनावमा १० वटा पालिका प्रमुखमा विजयी भएको छ ।

बुटवल उपमहानगरसहित, सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयर तथा शुद्धोधन, सियारी, कञ्चन, मायादेवी, सम्मरीमाई गाउँपालिकामा अध्यक्ष पद कांग्रेसले जितेको हो । नगरमा कुनै पनि उपप्रमुख पद जितेको छैन भने ४ वटा गाउँपालिका उपाध्यक्षमा विजयी भएको छ । अघिल्लो पटक मेयर जितेको देवदह नगरपालिकामा कांग्रेसले अहिले सो पद गुमाएको छ ।

यो पटक कांग्रेसले विगतमा एमालेले जिते जति नै ६७ वटा वडा जितेको छ । ५ वर्षअघि कांग्रेसले ३९ वटा वडा जितेको थियो ।

जसपाभन्दा लोसपा बलियो
उपेन्द्र यावदको पार्टीले ५ वर्षअघि रुपन्देहीको ४ वटा गाउँपालिकामा अध्यक्ष जितेको थियो । ३ पालिकामा उपाध्यक्ष र एउटा नगर उपप्रमुखमा पनि विजयी भएको थियो । त्यति बेला संघीय समाजवादी पार्टीको नाममा चुनाव लडेको उपेन्द्रको पार्टी यो पटक जनता समाजवादी पार्टीको रुपमा छ । जनता समाजवादी पार्टीले यो चुनावमा रुपन्देहीमा रोहिणी गाउँपालिकाको अध्यक्ष जितेको छ भने उपाध्यक्षमा पराजित भएको छ । यसअघि जितेको कोटइमाई, गैडहवा र मर्चवारी गाउँपालिका उसले गुमाएको छ ।

जसपाले यो पटक जिल्ला भरमा ८ वटा मात्र वडाध्यक्ष जितेको छ । अघिल्लो चुनावमा तत्कालिन संघीय समाजवादी पार्टी २२ वटा वडामा विजयी भएको थियो ।

यो पटक रुपन्देहीमा जसपा भन्दा लोसपा बलियो देखिएको छ । उसले कोटइमाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । मायादेवी गाउँपालिकामा उपाध्यक्षमा विजयी भएको छ । लोसपामा अहिले महन्त ठाकुर अध्यक्ष छन् । ५ वर्षअघि उनी राजपामा थिए । त्यसबेला राजपाले दोस्रो चरणको चुनाव देशभर बहिष्कार गरेको थियो । राजपाका समर्थकहरुले रुपन्देहीमा स्वतन्त्र रुपमा चुनावमा भाग लिएका थिए । राजपाबाट राजीनामा दिएर मेयर लडेका मनमोहन चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयर जितेका थिए । तर अहिले लोसपाबाट उम्मेदवार बनेका उनी पराजित भएका छन् ।

लोसपाले वडा पनि जसपाले भन्दा बढी जितेको छ । उसले जिल्लाभरमा ११ वटा वडाध्यक्ष जितेको छ ।

रुपन्देहीमा हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीले मर्चवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ । मर्चवारीमै दुई वटा वडाध्यक्ष समेत हात पारेको छ ।

माओवादी केन्द्र रुपन्देहीमा पालिकाको नेतृत्वबाट लगभग हराएको छ । रुख चुनाव चिन्ह लिएर उसले कञ्चन गाउँपालिकाको उपाध्यक्ष मात्र जितेको छ । जिल्लाभरमा ४ वटा वडाध्यक्षमा विजयी भएको छ । माधव नेपालको एकीकृत समाजवादी पार्टीले जिल्लाभरमा एउटा मात्र वडा जितेको छ ।

वडामा देखिए राप्रपा र जनमत
राष्ट्रिय प्रजातन्त्र पार्टीले रोहिणी गाउँपालिकाको उपाध्यक्ष जितेको छ । तर कतै पनि अध्यक्ष जित्न सफल भएन । रुपन्देहीभर राप्रपाले १० वटा वडाध्यक्ष जितेको छ ।

सीके राउतको जनमत पार्टीले ४ वटा वडा जितेको छ। नेपाल राष्ट्रिय जनता पार्टीले एउटा र स्वतन्त्र उम्मेदवारले दुई वटा वडाध्यक्ष जितेका छन् ।

नेपालखबरबाट

प्रकाशित मिति : १४ जेष्ठ २०७९ शनिबार ००:००  ४ : ३७ बजे