मायादेवी अनलाइन, वाणगंगा ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तुका तीन पालिका प्रमुखका उम्मेद्वार दोस्रो कार्यकालका लागि पराजित भएका छन् ।
०७४ सालमा जितेर पुनः दोस्रो कार्यकालका लागि सोही पदमा दोहोरिएर उम्मेद्वार बनेका तीन पालिकाका प्रमुखलाई जनताले हराएका हुन् ।
कपिलवस्तु नगरपालिकाको नगर प्रमुखका उम्मेद्वार किरण सिंह दोस्रो कार्यकालका लागि पराजित भए । ०७४ मा नगर प्रमुख जितेर ५ बर्षसम्म काम गरेका सिंह नेपाली कांग्रेसबाट पुनः नगर प्रमुखमा उम्मेद्वार बनेका थिए ।
सिंह यो निर्वाचनमा तेस्रो स्थानमा आए । उनलाई जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वार सुदीप पौडेलले ४ हजार ८ सय ५५ को मतान्तरमा पराजित गरेका हुन् । विजयी पौडेलले ११ हजार ९ सय ६ मत ल्याउँदा सिंहले ७ हजार ५१ मत ल्याए ।
सिंह ०५४ सालमा पनि यो नगरपालिकाको नगर उपप्रमुख थिए । लामो समय जनप्रतिनिधिका रुपमा काम गर्दै आएका सिंह यो निर्वाचनमा नराम्रोसंग पराजित हुन पुगेका हुन् ।
दोस्रो पटक चुनाव जित्न नसक्ने उम्मेद्वार बजरंगी कुर्मी पनि हुन् । मायादेवी गाउँपालिकाको अध्यक्ष भएर ५ बर्ष काम गरेका कुर्मी यो निर्वाचनमा पराजित हुन् पुगे । जनता समाजवादी पार्टी (जसपा) का उम्मेद्वार कुर्मी कांग्रेसका उम्मेद्वार वलिद्दिन मुसलमानसंग ३ सय ९८ को मतान्तरमा पराजित भएका हुन् ।
कुर्मीले ४ हजार ८ सय ८० मत ल्याएर पराजित हुँदा मुसलमानले ५ हजार २ सय ७८ मत ल्याएर विजयी भए ।
गत ०७४ को चुनावमा कुर्मी विजयी हुँदा मुसलमान दोस्रो स्थानमा आउँदै पराजित भएका थिए ।
शुद्धोधन गाउँपालिकाका निसार अहमद खाँले पनि यो निर्वाचनमा पराजय भोगे । ०७४ मा स्वतन्त्र रुपमा चुनाव जितेका खाँ यो निर्वाचनको सोही पदमा पराजित हुन पुगेका हुन् । जनता समाजवादी पार्टी (जसपा)बाट चुनावमा उठेका खाँलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेद्वार कमलेश शरण चौधरीले २ सय ९९ मतान्तरले पराजित गरेका हुन् ।
खाँले ४ हजार १ सय ८२ मत ल्याउँदा विजेता चौधरीले ४ हजार ४ सय ८१ मत ल्याएका थिए ।
प्रतिक्रिया