एजेन्सी ।
राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आइपिएल) मा १४ वर्षपछि फाइनलमा पुगेको छ । राजस्थानले शुक्रबार राती दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले हराउँदै पहिलो संस्करणपछि फाइनलमा पुगेको हो ।
राजस्थानले सन् २००८ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । फाइनलमा चेन्नई सुपर किंग्सलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि भने राजस्थानले फाइनलमा स्थान बनाउन सकेको थिएन । राजस्थान त्यसपछि २०१३ मा क्वालिफायरमा पुगेको थियो ।
२०१३ मा राजस्थानले तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो । क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ४ विकेटले पराजित हुँदै बाहिरिएको थियो । मुम्बईले फाइनलमा चेन्नईलाई हराउँदै आइपिएलको पहिलो उपाधि जितेको थियो ।
त्यसपछि राजस्थान २०१५ र २०१८ मा एलिमिनेटरबाट बाहिरिएको थियो । २०१५ मा राजस्थान बेंगलोरसँग ७१ रनले पराजित हुँदै बाहिरिएको थियो । २०१८ को एलिमिनेटर खेलमा कोलकातासँग २५ रनले पराजित हुँदै बाहिरिएको थियो । अन्य सिजनमा भने राजस्थान लिगबाटै बाहिरिदै आएको थियो ।
जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १८।१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा जस बटलर ६० बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय ६ रनमा अविजित रहे । बटलरको जारी सिजनको चौथो शतक हो ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाए । राजस्थानमा तीव्र गतिका बलर प्रसिद्ध कृष्ण र ओबेद म्याकोयले ३–३ विकेट लिए ।
राजस्थानले उपाधिको लागि आइतबार अहमदाबादमा गुजरात टाइटन्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा गुजरातसँग ७ विकेटले पराजित हुँदा राजस्थानले दोस्रो क्वालिफायर खेल्नु परेको थियो । राजस्थान दोस्रो पटक र घरेलु टोली गुजरात पहिलो सिजनमै च्याम्पियन बन्न चाहन्छन् ।
प्रतिक्रिया